विकासका लागि युवा जनशक्ति छ, स्रोत साधनको प्रयोगबाटै मुलुकको विकास हुन्छः प्रधानमन्त्री

काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताए ।

उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को आज यहाँ उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए ।

नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, “नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।’

सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई बढीभन्दा बढी प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, “देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ । सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो । स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो ।’

उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताए ।

बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको बताए ।

कमेन्ट गर्नुहोस्