ब्यथा लागेको ३ दिनसम्म सुत्केरी हुन नसक्दा उद्धारको पर्खाइमा

मुगु, चैत १४ । खत्याड गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा ब्यथा लागेको ३ दिनसम्म एक महिला सुत्केरी हुन सकेकी छैनन् ।

खत्याड गाउँपालिका, ८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथामिक स्वास्थ्य केन्द्रमा ल्याइएपनि जटिलता देखिएकाले बच्चा जन्मिन सकेको छैन् । मंगलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुलेपनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिए ।

थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान जिल्लासँग समन्वय भइरहेको उनले बताए । थापाको शरिरमा रगतको कमी र स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकोले उनलाई तत्काल उद्धार गर्नुपर्ने देखिएको तिमल्सिनाको भनाई छ ।

थापाको यो चौथो गर्भ हो । सो स्वास्थ्य केन्द्रमा प्रसुती सम्बन्धी सामान्य सेवामात्र उपलब्ध छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिपकुमार ढकालले गृह मन्त्रालयसँग कुरा भएको जानकारी दिँदै तत्काल उद्धार गरेर नेपाली सेनाको हेलीकोप्टरमार्फत उपचारको लागि सुविधायुक्त अस्पताल लगिने बताए ।

यसअघि ५ चैतमा सोरु गाउँपालिका ५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!