एसईई परीक्षामा चिट चोराउने भीडलाई नियन्त्रण गर्न हवाई फायर

बझाङ, चैत १४ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकामा रहेको बान्निचौर मावि केन्द्रमा बुधबार एसईई परीक्षामा चिट चोराउने भिडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

हिजो गणित विषयको परीक्षामा चिट चोराउन खोज्ने ३ जना अभिभावकलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा गाउँलेले ढुंगामुढा प्रहार गर्दा प्रहरी फायर गरेको हो ।

बान्निचौर माविको परीक्षा केन्द्रमा चिट चोराउनेहरुको भीड लागेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि नै ढुङ्गामुढा प्रहार भएको थियो । सोही क्रममा भिडलाई नियन्त्रण गर्न हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

परीक्षा केन्द्रमा व्यापक चिट चोरी हुने गरेको सुचना आएपछि प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रविण धिताल लगायतको टोली अनुगमनका लागि परीक्षा केन्द्रमा गएको थियो । ढुंगामुढा गर्ने आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रविण धितालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!