कोसी नदीमा २६ दिनपछि युवतीको शव फेला

विराटनगर, चैत १४ । बुधबार कोसी नदीमा प्रेमीले हत्या गरेर फालिएकी एक युवतीको शव २६ दिनपछि फेला परेको छ ।

बेलबारी नगरपालिका–८ निवासी योगेन्द्र गुरुङले हत्या गरेर कोसी नदीमा फालिएकी सोही ठाउँकी २६ वर्षीया प्रमिला राईको शव प्रहरीले कोसी नदीमा फेला पारेको हो । हातखुट्टा बाँधी बोरामा हालेर फालिएको अवस्थामा कोसी नदी किनारामा बुधबार शव फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर प्रेम राईले बताए ।

स्थानीय माझी युवाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पूर्व पतिसँग सम्बन्धविच्छेद गरेर बेलबारीस्थित माइतीघरमा बस्दै आएकी प्रमिला १७ फागुनदेखि हराएकी थिइन् ।

हत्यामा संलग्न योगेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । उनले दिएको बयानका आधारमा प्रहरीले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने सप्तरी र सुनसरीको कोसी किनारमा प्रमिलाको शव खोजी गरेको थियो । हत्यापछि भागेर पाँचथर पुगेका गुरुङलाई प्रहरीले पक्राउ गरेर मोरङ ल्याएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!