विप्लव निकट शिक्षक संगठनका अध्यक्ष प्रहरीको नियन्त्रणमा

बुटवल, चैत १४ ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक संगठनका रुपन्देही अध्यक्ष रामजी आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले कञ्चन गाउँपालिकास्थित निवासबाटै पक्राउ गरेको हो। आचार्य सूर्यपुरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक हुन्।

संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले आचार्यलाई प्रहरीले पक्राउ गरेको पुष्टि गरे। उनी पक्राउ परेको कुरा प्रहरीले भने अझै पुष्टि गरेको छैन। प्रहरीले रुपन्देहीमा विप्लव नेतृत्वको पार्टीका गतिविधि गर्नेमाथि  कडा निगरानी गरिरहेको छ।

यसैबीच संगठनका केन्द्रीय अध्यक्ष पाठकले सामाजिक सञ्जालमार्फत् विज्ञप्ति सार्वजनिक गर्दै पक्राउ गरिएका आचार्यलाई बिनाशर्त रिहा गर्न माग गरेका छन्। उनले ट्रेड युनियनका व्यक्तिलाई बिना कारण पक्राउ गर्न नपाइने भन्दै रिहा गर्न माग गरेका हुन्। सरकारले विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएपछि उनको पार्टी निकट संगठनका पदाधिकारीमाथि प्रहरीले निगरानी बढाएको छ। यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!