जथाभावी फुटपाथ र पार्किङका कारण कुरुप बन्दै महानगर

ललितपुर, चैत १३ । ललितपुर महानगरपालिकाले पाटनको मंगलबजारदेखि लगनखेल बसपार्कसम्मका सडकमा फुटपाथ पसल हटाउन गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन ।

मंगलबजार चोकदेखि लगनखेलसम्मका सडक, सार्वजनिक पाटीपौवा तथा फुटपाथ अतिक्रमण गरी सञ्चालित व्यापार तथा जथाभावी पार्किङले सो क्षेत्र अस्तव्यस्त बनेको छ । फुटपाथ पसल र जथाभावी पार्किङले यात्रुलाई आवगमनमा असहज भएकाले महानगरले ट्राफिक प्रहरी, नगर प्रहरी र स्थानीय टोल सुधार समितिको सहयोगमा यही चैत ७ गतेबाट लागू हुने गरी सो क्षेत्रमा फुटपाथ पसल तथा पार्किङ गर्न प्रतिबन्ध लगाएको थियो ।

महानगरको निर्णयप्रति व्यापारीहरुले विरोध समेत जनाएका थिए । अव्यवस्थित बजार र जथाभावी पार्किङकले महानगरका साथै पाटन दरबार स्क्वायर क्षेत्रसमेत कुरुप बन्दै गएको छ । यसले विदेशी तथा आन्तरिक पर्यटकको आवागमनमा समेत समस्या भएको छ । महानगरले चैत ७ गतेबाट लागू हुनेगरी सो क्षेत्रमा फुटपाथ पसल र पार्किङमा रोक लगाउने निर्णय गरेपनि कार्यान्वयन भने हुन सकेको छैन ।

महानगरपालिकाका फ्रवक्ता राजु महर्जनले जनशक्तिको अभावका निर्णय कार्यान्वयनमा कठिनाई भएको बताए । नगर प्रहरीको संख्या न्यून भएका कारण अनुगमनमा समेत समस्या भएको उनले बताए । महानगरमा अहिले जम्म १३ जनामात्र नगर प्रहरी छन् । नगर प्रहरीको रिक्त दरबन्दीमा पद पूर्तिको तयारी भइरहेको महानगरका प्रवक्ता महर्जनले जानकारी दिए । सार्वजनिक सूचना जारी गर्दा समेत अटेर गरे कारबाही गरिने समेत उनले बताए । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!