नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौं, चैत १२ । एएफसी तेइस वर्षमुनि (यु–२३) च्याम्पियनसीप छनोट फुटबल प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीच मंगलबार हुने समूह चरणको अन्तिम खेलमा दुवै टोलीले प्रतिष्ठाको लागि खेल्दैछन्। कतारको दोहास्थित स्पोर्ट्स सिटी सेन्टरमा हुने खेल नेपाली समय अनुसार राति ९ः४५ बजे दुवै टोली विजयी लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

खेल दुवै टोलीको लागि प्रतिष्ठाको लागि मात्र हुनेछ। यसअघि २ः२ खेल खेलेका नेपाल र अफगानिस्तान दुवै खेलमा पराजय भोग्दै छनोट चरणबाट बाहिरिसकेका छन्। पराजयसँगै नेपालका लागि भने एएफसी यू–२३ च्याम्पियनसीप खेल्ने सपना आगामी दुई वर्षका लागि पछाडि धकेलिएको छ। यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोलअन्तरले पराजित भएको थियो भने आइतबार भएको समूह चरणको दोस्रो खेलमा नेपाल कतारसँग ५–० गोलअन्तरले पराजित भयो।

यता अफगानिस्तान कतारसँग २–० को हार बेहोर्‍यो भने दोस्रो खेल ओमनसँग २–१ गोलले पराजित भयो। यू–२३ च्याम्पियनसिपमा नेपाल र अफगानिस्तान दुवैले अहिलेसम्म छनोट चरण पार गर्न सकेका छैनन्। सन् २०२० को जनवरी ८ देखि २६ सम्म थाइल्याण्डमा हुने एएफसी यू–२३ च्याम्पियनसिपका लागि छनोट चरणमा विभिन्न ११ समूह छन्। नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा कतार ओमन र अफगानिस्तान छन्। समूह ‘ए’ बाट कतार र ओमानबीच आज नै हुने खेलबाट अन्तिम चरणको टुंगो लाग्नेछ। जसमा विजेता टोलीले एएफसी यु–२३ च्याम्पियनसपमा सहभागिता जनाउनेछ।

त्यस खेलमा पराजित हुने टोलीका लागि पनि उत्कृष्ट उपविजेता भएर अगाडि बढ्ने अवसर हुनेछ। दुई खेल खेलेको कतारको ६ अंक छ भने समान खेल खेलेको ओमनको पनि समान ६ अंक नै छ। प्रत्येक समूहको विजेता टोली, उपविजेतामध्ये उत्कृष्ट चार टोली र आयोजक थाइल्याण्ड गरी १६ टोलीले फाइनल चरणमा स्थान बनाउने छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!