थला बसेको शक्तिशाली सत्ता

प्रधान सेनापित र पशुपतिको पुजारी काण्डको फेरो समाएर तत्कालीन एमाले र कांग्रेसले तत्कालीन शक्तिशाली माओवादीलाई थला पारे । युद्ध भूमिको जंगि स्वभाव सहित सबैलाई उछिट्याउने दाउ सहित जुँगाको ताउ मिलाएर सत्तामा पुगेका प्रचण्डले केही गर्ने छाँट त देखाएकै हुन्, तर उनको आवेग र झोकले मात्रै केही गरेन। देश तोड्छु भन्नेहरू र देश जोड्छु भन्नेहरू मिले । राजा ल्याउँछु भन्नेहरू र राजा फ्याँक्नेहरू पनि मिलेकै थिए ।

संविधान बनाउनेहरू र त्यही संविधान च्यात्नेहरू पनि मिले । तर यो देशबाट हराएको सुशासन र समृद्धि भन्नेकुरो प्रधानमन्त्री र मन्त्रीका ओठमा मात्रै भेटियो । आउँदा निर्वाचनका प्रतिबद्धताहरुमा देश बनाउने होइन, नेता बन्ने पंक्तिलाई केन्द्रविन्दुमा राखौं ।

‘कमाउ र राजगरुको सिद्धान्तलाई निधारमा टाँसेर विकास र निकासका बुँदाहरु पुछारमा झुण्ड्याउँ। आखिर हुँदै आएको र भइरहेको यही त हो । सामान्य वडा सांसद (वडा सदस्यहरु)को निर्वाचन पश्चातको रहनसहन देखेर समाजले जिब्रो टोक्छ भने प्रदेश र प्रतिनिधि सभाका सांसदको के कुरो । गाउँ गाउँमा सिंहदरबारको घण्टी बजाएर ल्याइएको स्थानीय सरकारले मैमत्त भएर रजाइँ गरेको छ। ऊ आफै ठेक्कापट्टा, टेण्डर र कमिसनमा मस्त छ भने, गाउँहरु दलालहरुको कर्मकाण्डले ऐठन पार्दा मुर्झाएर घुँडा टेकेका छन् । दलाल तथा नोकरशाही व्यवस्थाका विरुद्ध जंग लडेर सत्तामा पुगेका कामरेडहरुको असलियतका बारेमा यी अक्षर पढिरहेका तपाइँ नै बर्ता जानकार हुनुहुन्छ ।

कम्युनिस्ट कार्यकर्ता द्वन्द्ववादी हुँदैन, प्रश्नशील हुँदैन र नेतृत्वलाई स्याबास् ! मात्रै भन्छ भने बुझ्नू( ऊ दास हो ।’ यो मान्यतालाई म उहिल्यैदेखि शिरोपर गर्दै आएको छु । अनर्थ नलागोस । सीधा कुरा यो हो कि ‘म कसैको शुभेच्छुक हुँला यद्यपि कार्यकर्ता वा दास होइन ।’ भन्दा मुटु बिझाउला । सुन्दा अप्रीय लाग्ला । र यथोचित मनन नगर्ने कामरेडहरु आफैलाई यो विचार भद्दा लाग्ला । देशभक्तको छेउलो ओढेर देशका हाडछाला लुछ्न तल्लीन मनुष्य रुपधारीलाई घोचोस् चाहे बिझावस मलाई मत्लब भएन ।

यतिखेर गणतन्त्रको साइनबोर्डमुनि शाहीकालीन चाकरीले पराकाष्ठा नाघेको छ । राष्ट्रियता र सुशासनको बियाँ केलाउँदै हिँडेको सरकार बाटोमै निदाएको छ । एकजना प्रसिद्ध दार्शनिकले भनेका छन् ुसगरमाथा चढ्ने कुरो महत्त्वपूर्ण होइन, बरु त्यो चुचुरोमा कतिन्जेल टिक्यो भन्नेकुरो नै महत्त्वपूर्ण हो ।’ नेपाली कम्युनिष्टहरुको हकमा अति सान्दर्भिक युक्ति हो यो । अझ नेपालको इतिहासमा त्यति ठूलो रक्तपातपुर्ण क्रान्ति हाँकेर यहाँसम्म आएको नेतृत्वसँग यो भनाइ हुवहु मेल खान्छ । प्रचण्डसँग मात्रै होईन, वैद्य, बाबुराम र विप्लवहरुका कार्यशैलीसँग पनि यो युक्ति ठ्याक्कै मिल्छ । किनकी यिनीहरु शिखरमा त पुगे, तर बाहदुरी ताका साथ त्यहाँ टिक्न सक्ने ल्याकत राखेनन् । समग्रमा यिनै भयंकर क्रान्तिकारीहरुको विभाजनले पुरातनका रैतिहरु बिउँझिए। फलस्वरूप अहिले ‘को अग्रगामी र को प्रतिगामी ?’ भन्ने कुरो तोरिमा तिल मिसाएझैँ भएको छ।

म मान्छु, देशमा झाँगिदै गएको वर्तमान दुर्दशा यो सरकारले जन्माएको होइन । परन्तु यसमा जनसेवाको बर्को ओढेर यो सत्ताको नुनपानी हसुर्नेहरुको अहम भुमिका रहेको कुरो नकार्न सकिँदैन। जनताको अथक त्याग, बलिदान र पसिनाले आर्जेको यो व्यवस्थालाई नितान्त आफ्नै खोपीको दियो सम्झिनेहरु नै देशका शत्रु हुन् । जसरी रक्तरञ्जित सिंहासन ढल्दा राजतन्त्र भुइँमा घोप्टियो, त्यसरी नै आजसम्मका आंशिक उपलब्धिहरुलाई पनि यिनैले वाग्मतीमा दैनिक सेलाइ रहेका छन् । राजतन्त्रको रिक्त स्थान परिपुर्ति गर्न सत्ताको लिस्नो उक्लिने तत्कालीन भसक्कै क्रान्तिकारीहरुका स्वाभिमानी स्वरहरु सत्ताको भिरबाट गुल्ठिएपछि देश उँधो गति धकेलिएको सत्य हो । बाँकी पहिलेदेखि गन्हाएकाहरुको के कुरो ।

देशमा विगतका बेथिति विरुद्ध कुइरिपुत्योल जंगिनेहरुको शक्तिशाली सत्ता छ । त्यो शक्तिशाली सत्ता विगतका सपना र वर्तमानका विपनाको बोझले थलिएर आफ्नै मझेरिमा कुप्रो परेको छ। उसले छुट्याउनै सक्दैन, सहानुभूति दर्शाउने र उछितो काड्नेहरु बिचको फरक । सायद यो सत्ता सुखले प्रदान गर्ने मदहोशीको दोष हुनुपर्छ । बेलाबखत सवल प्रतिपक्षीको बर्को ओढेर संसद भवनमा भैलेनी भट्ट्याउनेहरु आफ्नै घर झगडाले घोसे मुन्टो लगाएर बसेका छन् । हुनत देश उत्तानो पार्ने अभियानमा उनीहरुको पनि कम्ती योगदान छैन । र पनि मक्किएर जिर्ण बनिसकेको कांग्रेसलाई अलिकति सुधारवादी धार समात्ने सुनौलो मौका थियो । प्रतिपक्षमा बस्दा नामी होला भन्ठानेको कांग्रेस झन् प्रश्चगामी निस्कने अब निश्चित जस्तै भो।

पहिले देश डुव्नुको कारकतत्व राँणा, पञ्चे, राजा र काँग्रेसलाई मात्रै देखिन्थ्यो भने अब त्यहाँ अर्को पंक्ति पनि थपिने छ । र जपिने छ देश बिगार्नेहरुको कित्तामा त्यो नाम । हुन त मार्क्सको नाम बेची साम्राज्यवादको खेताला बनेर कमाई खाने क्रान्तिकारीहरूले एकपल्ट ऐना हेर्न जरुरी छ । र सत्यताको पुष्टि गर्न आफ्नै नाकको टुप्पोमा टाँसिएको कालो दाग मेट्न सक्नुपर्ने छ । गतिशीलताको नाममा आधुनिक गाडीको लावालस्कर र साइरनको हुंकार प्रदर्शन गर्दै चर्पी उद्घाटन गर्न कुँद्ने वर्तमान सरकार अझै २० वर्ष चलेपनि देश उमो लाग्दैन, यो पंक्तिकार स्वयंको ठोकुवा हो । हुन त यो व्यवस्थाले पनि धेरैको पेटमा माँड लगाएको छ ।

हिजोका शत्रुहरुबीच दरबारको पटांगिनिमा मोलमोलाइ चलिरहेको छ । पहुँचका भरमा दैलो कुचेर लोकाचार पार्नेहरुलाई फलिफाप पनि भएको छ। यद्यपि विभिन्न माध्यमबाट यि घिनलाग्दा दृश्य अवलोकन गर्नेहरु लाजले ठहरै परेका छन् । किनकी ? देश लुट्ने कुरामा यहाँ कोहि कसैको विरोधी देखिएन । बरु बनाउने सन्दर्भमा सधैं विमती देखियो।

मुखले मनलाग्दि जोत्ने र व्यबहारले सिन्को समेत नभाँच्ने यो सरकारको शुद्धी कति रहेछ भन्नेकुरो विप्लव नेतृत्वको नेकपा प्रति आंगिकार गरिएको निशेधको नितिले प्रष्ट पार्छ । प्रतिबन्ध समाधान होइन द्वन्द्वको निमन्त्रणा हो। २१ औं शताब्दीमा राज्यले जनआवाज दमन गर्न सक्दैन। सत्ताको नेतृत्व गर्नेलाई हिंसा बमन गर्न केले उक्साउँदो हो ? अझ स्वयं प्रधानमन्त्रीलेनै सेना गुहारेको खबरसमेत सतहमै आए । आफैलाई मस्तै चतुर ठन्नेहरुले सिस्नाको आँठो समातेपछि पोल्यो भनेर स्वाङ् पो केलाई पार्नु ?

अन्तमाः समृद्धि र सुशासनको ओछ्यानमा ढल्किएर थला बसेको सरकारको चिर निदरी छिट्टै खुलोस। साथसाथै देशले निकास र विकासको मार्ग पहिल्याएर उमो लाग्न नसके पनि उँदो नलागोस । समग्रमा, न त सदनमा चर्को प्रतिपक्षी छ, न त सरकार नै अल्पमतमा । र पनि यसको गतिशीलता झुसिलकिराको भन्दा मत्थर छ । अझ अजिवलाग्दो कुरो त यो छ कि, त्यतिधेरै उखान टुक्काको भकारी फस्टाएर देशलाई उहिल्यै समृद्धि पथमा हुँइक्याउछु भन्दै धर्ती उधिन्ने शक्तिशाली सत्ता किन आफै थला बसेको होला ? धत् !!

कमेन्ट गर्नुहोस्

error: Content is protected !!