आइपीएलः १२ वर्षपछि पन्जाबसँग ‘घरेलु मैदान’ मा राजस्थानको हार

काठमाडौं, चैत १२ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलेभेन पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै आइपीएलमा पन्जाबले विजयी शुरुवात गरेको हो । जयपुरस्थित राजस्थानको ‘होम ग्राउण्ड’ मा भएको खेलमा क्रिश गेलले उत्कृष्ट ब्याटिङ गरेपछि पञ्जावले जित निकाल्न सफल भयो ।  राजस्थानविरुद्ध पन्जाबले उसकै घरेलु मैदानमा १२ वर्षपद्धि जित निकाल्न सफल भएको हो ।

टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । उसका लागि क्रिश गेलले विस्फोटक ब्याटिङ गरे । उनले ४७ बलमा ८ चौका र ४ छक्काको मद्दतमा ७९ रन बनाए । यस्तै सर्फराज खानले अविजित ४६ रन बनाए । उनले २९ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए । मायांक अग्रवालले २२, निकोलस पुरनले १२, केएल राहुलले ४ र मन्दीप सिंहले नटआउट ५ रन बनाए । बलिङतर्फ राजस्थानका बेन स्टोक्सले २,  कृष्णप्पा गौतम र धवन कुलकर्णीले एकएक विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ९ विकेट गुमाउँदै १७० रन मात्र बनाउन सक्यो । उसका लागि जोस बट्लरले १० चौका र दुई छक्का प्रहार गर्दै ४३ बलमा ६९, अजिन्क्या रहाणेले २७ सन्जु स्यामसनले ३०, स्टेभेन स्मिथले २० रन जोडे । अन्य खेलाडीको प्रदर्शन राम्रो रहन सकेन ।

राजस्थानलाई हराउनका लागि स्याम कुरान, मुजिब उर रहमान, अंकति राजपूतले दुईदुई र विचन्द्र आश्विनले एक विकेट लिए । आइपीएलमा आज सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स भिड्दै छन् । खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजे दिल्लीमा हुँदैछ । यी दुई टिमले पहिलो खेलमा जित दर्ता गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!