ब्रह्मदेबमा भारतीय एसएसबीद्वारा रोकिएको सडक निर्माणलाई सीमा बैठकपछि निरन्तरता

कञ्चनपुर, चैत ११ । भीमदत्त नगरपालिकाले ब्रह्मदेबमा भारतीय एसएसबीले अवरोध गरेको सडक निर्माणलाई सीमा बैठकपछि निरन्तरता दिने भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भारतीय पक्षको आग्रहमा चैत १३ गते अर्थात मार्च २७ तारेखमा वनबासामा बस्ने सीमा बैठकसम्म निर्माण रोकिएकाले त्यसपछि निरन्तरता दिने बताएका हुन् ।

‘नेपाली भूमिमा सडक कालोपत्रेको कार्य हुँदैन, एसएसबी आएर त्यसमा अवरोध ग¥यो, स्थानीय प्रशासनले भारतसित कुरा गर्दा सीमा बैठकबाट हल गर्ने कुरा आएको छ’ नगर प्रमुख विष्टले भने,‘ बैठकपछि लगत्तै सुरु गर्छौ ।’

भीमदत्त नगरपालिकाले टनकपुर बाँधको पूर्वपट्टि ३ नम्बर सीमा स्तम्भदेखि ब्रह्मदेब बजारसम्म १ सय ३८ मिटर सडक निर्माण कार्य सुरु गरेको हो । न्यू जोशी कन्स्ट्रक्सनले निर्माण सुरु गरेपछि एसएसबी आएर निर्माण अवरोध गरेपछि काम रोकिएको छ ।

नगर प्रमुख विष्टले सडक निर्माण स्थलको स्थलगत अनुगमन गर्दै नेपाली भूमिमा सडक बनाउन कुनै अप्ठेरो नहुने बताए । ‘दुई देशको कुरा हो, उताबाट सीमा बैठकसम्म रोक्न आग्रह आएपछि त्यसलाई रोकिएको छ, उनले भने,‘ नेपाली भूमिमा सडक बनाउन कुनै अप्ठेरो छैन ।’ भारतीय पक्षले संयुक्त सीमा सर्भे टीमलाई बोलाएर विवाद अन्त्य गरी सडक निर्माण गर्नु पर्ने भन्दै सीमा बैठकसम्म निर्माण रोक्नका लागि आग्रह गरेको थियो । भारतले यस अघि आफ्नो क्षेत्रमा पर्ने सडक निर्माण गरि सकेको छ । भारतले अहिले सडक कालोपत्रे हुन लागेको नेपाली भूमि कब्जा गरी ब्रह्मदेब बजारसम्म सडक बनाउन लागेको थियो । स्थानीय प्रशासनले नेपाली भूमिमा सडक निर्माण कार्यलाई रोक्का गरेको थियो ।

भारतले ३ नम्बर सीमा स्तम्भसम्म सडक निर्माण गरेको छ । भीमदत्त नगरपालिकाले नेपाली भूमिमा पर्ने ब्रह्मदेब बजारदेखि ३ नम्बर सीमा स्तम्भसम्मको क्षेत्रमा सडक कालोपत्रे गर्न लागेको हो । नेपालले ब्रह्मदेब बजारसम्म सडक बनाउन नदिएको प्रतिशोध साँध्न समेत भारतले सडक निर्माणमा विवाद झिकेको स्थानीय बताउँछन् ।
‘उसले ३ नम्बर सीमा स्तम्भसम्म बनाउँदा केही नचाहिने, हामीले बनाउँदा किन चाहिने’ एक स्थानीयले आक्रोशित हुँदै भने,‘यो नेपाली भूमि कब्जा गर्न नदिएको रिस बाहेक अरु केही होइन ।’

महाकाली नदीमा टनकपुर बाँध बनाउँदा ३ नम्बर सीमा स्तम्भ गायब भएको छ । सीमा स्तम्भ नहुँदा भारतीय पक्षले अनावश्यक विवाद गर्दै आएको छ । सीमा स्तम्भ नजिकको बाँध नजिक क्षेत्रमा सिडीलाई आधार बनाएर दुबै देशको सीमा क्षेत्र छुट्याएको स्थानीय बताउँछन् । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले सीमा स्तम्भ नभएकाले सिढीका आधारमा सीमा छुट्टिएको बताए ।

‘बाँध बनाउँदा सीमा स्तम्भ नदीमा गयो, त्यहीं स्तम्भका आधारमा सिढी बनाइएको छ, यताको नेपाली भूमि हो, उताको भारतको हो, यसमा विवाद गर्नुु पर्ने कुरा नै छैन’ उनले भने । भीमदत्त नगरपालिकाले ब्रह्मदेबस्थि सिद्धनाथ बाबाका दर्शनार्थी र स्थानीयलाई आवतजावतमा सहजताका लागि सडक कालोपत्र बनाउन सुरु गरेको हो । १ सय ३८ मिटर लम्बाईको सडक निर्माणका लागि ४३ लाखमा ठेक्का दिइएको छ ।

भारतीय पक्षले ब्रह्मदेब बजारसम्म नेपाली भूमिमा समेत सडक बनाउन थालेपछि नगर प्रमुख विष्टको अगुवाईमा निर्माण रोकिएको थियो । त्यसपछि उनले नगरपालिकाबाट सडक निर्माणको लगत र स्टिमेट गरी सडक निर्माण बजेट विनियोजन गरेका थिए । भारतीय एसएसबीले सडक निर्माण अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य सहितका सरकारी अधिकारीले ब्रह्मदेब पुगेर भारतीय पक्षसित कुराकानी गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!