तीन दिनसम्म वर्षा हुने, उच्च पहाडी भागमा हिमपातको सम्भावना

काठमाडौं, चैत ११ । आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विमागका अनुसार मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुनेछ ।

आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।

यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद्को अनुमान छ ।

आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ ।

वर्षा हिमपात

कमेन्ट गर्नुहोस्

error: Content is protected !!