लण्डन र जेनेभाको मोहले रोकेन नेपाल फर्किन, अहिले ३३ वर्षमैं सहसचिव

फिचर स्टोरी/गोकर्ण भट्ट

लण्डनमा मिलेको खुसी

सखारै साढे पाँच बजे, निन्द्रामैं रहेको बेला फोनको घण्टीले उनले आँखा खोले । मोबाईल हेर्दा नेपालको नम्बर ।

एकाबिहानै भाईको फोन देखेर एकछिन त उनको ढुकढुकी बढ्यो । ‘यति बिहानै के परेछ ?” आशंका जन्मिनु स्वभाविकै थियो ।

तर त्यो फोन उनको जीवनको ‘टर्निङ प्वाइन्ट” नै बन्न पुग्यो । अर्थात् खुशी र सफलताको प्रस्थान बिन्दु ।

“दाई तपाईको नाम निस्क्यो ।” निन्द्राले अझै खुल्न नसकेका आँखा मिच्दै गर्दा भाईको स्वर सुनियो ।

उनले विश्वासै गर्न सकेनन् । ‘बधाई छ दाई’ भाई भन्दै थिए । उनलाई के भनुँ के भनुँ लाग्यो । धन्यवाद भने ।

त्यसपछि हामीबीच सामान्य कुरा भए । भाईले नेपाल फर्किन भनेपछि दिनभरी मन दोधारमैं घुम्यो ।

काठमाण्डौं स्कूल अफ ल बाट स्नातक उत्तीर्ण गरेपछि उनी लागेका थिए बेलायततर्फ । कानुनको विद्याका लागि बेलायत मोेडेल देश मानिन्छ । त्यहींको विश्वविद्यालयमा स्नातकोत्तर कक्षामा भर्ना लिएका थिए उनले ।

उता शाखा अधिकृतको परीक्षामा नाम निस्केको छ, यता बेलायतमा भर्ना भइसकेको छ । ‘के गर्ने कसो गर्ने ?’ उनले केही सोच्न सकेनन् ।

‘मैले सबै पाटो केलाए ।’ उनी भन्छन्, र, अन्तमा मनले निधो ग¥यो, ‘नेपाल नै फर्किनु प¥यो ।’ एकदुई वर्ष बेलायत बसेपनि त्यसपछि के त ? भन्ने प्रश्न मनले गरेपछि कतै न कतै नेपाल नै फर्केर जागिर सुरु गर्ने निर्णय गरेको उनले बताए ।

त्यसो गर्न कसरी सके हुँला ?

विदेश जान मरिहत्ते गर्ने नेपाली समाजमा निर्णय ठीक थियो या थिएन भन्ने कुरा त्यतिबेला निधो गर्न सक्ने अवस्था थिएन । हाइस्कूल र इन्टरमियिट सँगै पढेका असी नब्बे प्रतिशत विदेशमा गएका थिए उनका साथी । तर त्यो बेला पनि उनले विदेश रोजेनन ।

“देश युद्दको भुमरीमा भएको बेला साथीहरु सबै बाहिर गए । तर त्यो बेला पनि मैले नेपालमैं कानुन पढ्न भर्ना भएँ ।” उनी भन्छन्, “अहिले सोच्दा त त्यस्तो डिसिजन कसरी गर्न सकेँ हुँला भनेर आफै अचम्ममा पर्छु ।” तर ‘होनीको कौन टाल सकता है’ भन्ने हिन्दी उखान जस्तै उनले रेकर्ड ब्रेक जो गर्नु थियो– सबैभन्दा कम उमेरमा सहसचिव हुने रेकर्ड । ३३ वर्ष नपुग्दै नेपालको न्यायसेवामा सहसचिवको कुर्सीमा बस्ने सौभाग्य पाउनु थियो । एउटा खुसी बटुल्नु थियो ।
त्यसैले न उनी इन्टर पढेपछि विदेश गए न त मास्टर पढन बेलायत नै बसे ।

जागेन इन्जिनियर बन्ने रहर

उनी सन्देश श्रेष्ठ, ३३ वर्षकै उमेरमा सहसचिव बन्ने युवा राष्ट्रसेवक । २०४२ सालमा कास्कीको लेखनाथमा जन्मे उनी । बुवा रामकुमार श्रेष्ठ र आमा केश कुमारी श्रेष्ठको असीमित माया पाएका सन्देशले कक्षा तीनदेखि भने चितवनमा पढे । चितवनको सरकारी विद्यालय लक्ष्मी माबिबाट उनले हाइस्कूल पास गरे ।

सरकारी स्कूल भएपनि पढाई राम्रो र उनी पनि अब्बल नै थिए पढ्नमा । सरकारी स्कूल हुँदा व्यक्तित्वमा निखार आउने र देश समाजको बारेमा पनि चासो बढने उनको अनुभव छ । “स्कूलमा राम्रै थिए । सधैं पहिलो भएँ ।” उनी भन्छन्, “घरमा पनि बुवा जिल्ला शिक्षा अधिकारी भएकोले सरकारी जागिर, परीक्षालगायतका बारेमा एक खाले माहौल बन्यो ।”

                                                                                                  परिवारका सदस्यसँग सामूहिक तस्वीरमा सन्देश श्रेष्ठ

बुवा अधिकांश समय चितवन र सेरोफेरोको जिल्लामा सरुवा भएका कारण सबै परिवार अधिकांश सँगै बस्ने वातावरण बन्यो उनका लागि । स्कूलमा मेधावी छात्र उनी । शिक्षकको पनि माया उत्तिकै । यसले उनीभित्र एउटा फरक खाले जिम्मेवारीपन, पाकोपन र केही गर्नैपर्छ भन्ने मानसिकताको विकास भयो ।

त्यसैले पनि उनले जीवनको लक्ष्यतर्फ नै बढी ध्यान दिए । तर सबै कुरा वेवास्ता गरेर भने होइन, देश, समाज, राजनीतिलगायतका विषयमा पनि उनले राम्रैसँग चासो लिए । यो मनोविज्ञानले उनलाई सामाजिक विज्ञान पढ्न उत्प्रेरित ग¥यो ।

विज्ञान विषयमा इन्टर पास गरेपछि अधिकांशको रहर डाक्टर, इन्जिनियरिङ नै हुन्छ । अभिभावकले त झन त्यही नै चाहन्छन पनि । तर उनलाई विज्ञानको पढाई कोरा प्राविधिक लाग्यो । रमाईलो त कानुन या सामाजिक संकायतर्फ छ सोचेर उनले काठमाडौं स्कूल अफ ल भर्ना भएँ । र, छोराको यो निर्णयमा परिवारले पनि कुनै दबाब दिएन । “बुवा सरकारी कर्मचारी भएर पनि होला, वहाँलाई न्यायसेवाको बारेमा राम्रोसँग थाहा थियो, मलाई पनि कोरा प्राविधिक भन्दा अलि फरक पढने सोच थियो र कानुनमा भर्ना भएँ ।” उनी भन्छन् ।

अहिले ४, ५ हजार डलर मासिक तलब खाउँला, त्यसपछि के गर्ने त ? भन्ने प्रश्न दिमागमा आयो । मान्छेको जीवनमा धैर्यता र एउटा लक्ष्यमा निरन्तर हिँडनु नै ठूलो कुरा हो सोचे, अनि जागिरमैं फर्किए ।

काठमाडौं स्कूल अफ लबाट स्नातक गरेपछि उनले लोकसेवाको परीक्षा दिए । तर परीक्षामा खासै तयारी गरेका थिएनन । निस्किने आशा थिएन । “उमेर पनि बाँकी छ, माष्टर पढेपछि फेरी दिम्ला या अरु केही बाटो गरौंला” उनले सोचे र हिँडे बेलायतको लण्डनमा ।

तर उनले नेपाल फर्किनु थियो । परीक्षा त्यति राम्रो नगएको लागेपनि उनी पास भए । फर्केर आएपछि अधिकृतको जागिर खाए ।

तर उनको लक्ष्यभेदनको चाहना यत्तिमै भने रोकिएन । उनले अधिकृत पास भएदेखि नै उपसचिवको परीक्षाका लागि तयारी गरे । उपसचिवमा खुलामा नाम निकाल्ने उनको सपना बन्यो ।

तर यही बीचमा उनलाई स्नातकोत्तर गर्ने अवसर पाइयो । जेनेभा विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर पढ्ने लक्ष्यसहित उनी स्वीट्जरल्याण्ड लागे । त्यहाँ उनले स्नातकोत्तरको अध्ययन सम्पन्न गरे । त्यसले व्यवसायिक दक्षता, विषयबस्तुको गहन बुझाई र अध्ययन शैलीमा समेत उल्लेख्य प्रभाव पारेका उनलाई लाग्यो ।

                                                   जीवनसंगिनीसँग खुशियाली साटदै सन्देश श्रेष्ठ

“सरकारी जागिर नि झ्याउ नै रहेछ सिर्जनशीलताविहिन हुने रहेछ सोचेर त्यतै बसुँ जस्तो लागेन त जेनेभामा हुँदा ?” मैले सोधे ।

“जेनेभामा हुँदा त्यस्तो सोचाई आएको थियो ।” उनी भन्छन, “त्यहाँ युएनका थुप्रै अफिस थिए । जेनेभा विश्वविद्यालयको कानुनको विद्यार्थीलाई जागिर गा¥हो पनि नहुने रहेछ । तर अहिले ४, ५ हजार डलर मासिक तलब खाउँला, त्यसपछि के गर्ने त ? भन्ने प्रश्न दिमागमा आयो । मान्छेको जीवनमा धैर्यता र एउटा लक्ष्यमा निरन्तर हिँडनु नै ठूलो कुरा हो सोचे, अनि जागिरमैं फर्किए ।”

धोको भए मात्रै तयारी

नेपाल फर्केर उनले उपसचिवको तयारीलाई निरन्तरता दिए “दैनिकरुपमा नियमित अध्ययन गरेँ” उनी भन्छन । विषयबस्तु बुझेर नियमित पढने हो भने प्रतियोगितात्मक परीक्षामा उत्तीर्ण हुन गा¥हो नहुने उनको अनुभव छ ।

“लोकसेवा पास हुने त्यस्तो विशेष फर्मुला हुँदैन”, उनी भन्छन, “सबैभन्दा ठूला कुरा आफूले के को परीक्षा दिइरहेको हो र त्यसमा के कुरा सोधिन्छ भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । विषयबस्तुको रुपरेखा राम्रोसँग बुझेपछि बल्ल सोही अनुरुपको नियमित तयारी आवश्यक हुन्छ ।”

शैक्षिक परीक्षा समेत जीवनको नियमित कार्यतालिकाको पाटो बन्नुपर्ने उनको ठम्याई छ । तर पहिलो कुरा भने रहर र इच्छा नै हो । रहर, इच्छा, मन एकातिर हुने तर लोकसेवा निकाल्छु भन्ने सोचेर दुई चार महिना पढदैमा पास भइन्छ भन्ने ग्यारेण्टी नहुने उनी बताउँछन । त्यसैले लोकसेवा नै पढने या कर्मचारीतन्त्रमा नै जाने भन्ने जीवनको लक्ष्य हो भने मात्रै यसतर्फै हात हाल्नुपर्ने उनको भनाई छ ।

हामीकहाँ तीन घण्टामा कति लेखे भन्ने कुरा ठूलो हुन्छ” उनले भने, “तर म जेनेभा छँदा घण्टाको ठाउँमा यति पेज भन्दा बढी लेख्न नपाईने भन्ने हुन्थ्यो । ८ पेजमा सबै लेख्नुपर्ने ।

उनी आफूले पनि उपसचिव र सहसचिवका लागि अधिकृतको परीक्षा पास भएदेखि नै निरन्तर तयारी गरे । “सहसचिवको खुला परीक्षा त हुने या नहुने भन्ने नै निश्चित थिएन । कसैले हुन्छ भन्थे, कसैले अब खुलाबाट हुन्न भन्थे । अन्यौलता थियो । कतिपयले परीक्षा नै नखुल्ने हो भने किन मेहनत गर्नु पनि भन्थे ।” आफ्नो अनुभव सुनाउँदै उनले भने, “तर मैले पनि सहसचिवको परीक्षा दिने नै सोचेको थिए, कहिले खुल्छ या खुल्दैन भन्ने कुरामा मैले ध्यान दिइनँ । खुले दिउँला, नखुले नि पढेको कुरा मेरै कार्यक्षेत्रमा काम लाग्छ, अनुभव बढछ भन्ने सोचेर नियमित पढे । विज्ञापन नै खुलेपछि भने एक महिना विदा लिएर तयारी गरेँ ।”

दैनिकरुपमा चार पाँच घण्टा विषयबस्तुका बारेमा यथेष्ट जानकारी बटुलेर पढने र विज्ञापन खुलेपछि १०–१२ घण्टा समय लिएर पढने हो भने उत्तीर्ण हुन समस्या नहुने उनको बुझाई छ । “तर मुख्य कुरा के पढने हो ।” उनले थपे, “सेलेबसभित्र भएका विषयबस्तुबारे जतिसकिन्छ व्यापक जानकारी लिएर पढनु जरुरी छ ।”

नेपाली शिक्षा प्रणालीमा संश्लेषण गरेर लेख्ने बानीको विकास नभएको कारण विषयबस्तु बुझेको भएपनि त्यसलाई सटिक ढंगले लेख्न नसक्दा समस्या आउने अवस्था आफूले देखेको उनी बताउँछन् । विषयबस्तुले खोजेको हो, त्यसलाई बुँदागत र सटिक ढंगले तथ्यपूर्णरुपमा प्रस्तुत गर्नुको साटो लामो गफ लेख्ने कारण पनि असफलता भोग्नुपर्ने उनले बताए ।

“हामीकहाँ तीन घण्टामा कति लेखे भन्ने कुरा ठूलो हुन्छ” उनले भने, “तर म जेनेभा छँदा घण्टाको ठाउँमा यति पेज भन्दा बढी लेख्न नपाईने भन्ने हुन्थ्यो । ८ पेजमा सबै लेख्नुपर्ने । यसले बुझेको कुरालाई एकदमै सटिक ढंगले लेख्न सिकायो ।” परीक्षामा तयारी गर्दा विषयबस्तुका बारेमा बढाई चढाई नगरी ‘टु दि प्वाइन्ट” लेख्नुपर्ने उनी बताउँछन् । यसका लागि विषयबस्तुको जानकारी र नियमित लेखन अभ्यास आवश्यक हुन्छ ।

सोझो बाटो, निरन्तर साधना

अब उनी सहसचिव भएका छन् । उनका अगाडि सिँगो जीवन बाँकी छ । के छन त उनका योजना ?

“भविष्यका बारेमा त्यस्तो सोचेको छैन । सहसचिव बन्नु नै मेरा लागि सबैभन्दा ठूलो कुरा हो ।” उनी भन्छन, “तर अब पिएचडी गर्छु होला, बाँकी कहाँ पुगिन्छ हेरौं ।”

“प्रधान न्यायाधिश ?’ यसो भन्न नपाउँदै उनी फिस्स लज्जालु हाँसो हाँसे, “त्यो सोचेको छैन । अहिलेको प्राथमिकता आफुलाई कर्मक्षेत्रमा खार्ने हो, दक्ष बनाउने हो र अनुभव बटुल्ने हो ।”

“समस्या हाम्रा फैसला नेपालीमा हुन्छन र अरुले तिनका बारेमा थाहा पाउँदैनन ।” उनी भन्छन्, “अरुका फैसला अंग्रेजीमा पाइन्छन र सोझै नजिरका रुपमा पढन या उल्लेख गर्न मिल्छ तर हाम्रोमा त्यो समस्या छ ।”

त्यसो त उनका लागि अब उनी अहिलेसम्म संसार भोगे बराबरको बाँकी जीवन सरकारी सेवामा बिताउन पाउने अवसर छ । अझै ३२ वर्ष बाँकी छ उनले सेवा गर्न । त्यसरी हेर्दा न्याय सेवाको उच्चतम तहमा स्वतः पुग्छन् उनी । तर उनी भने अहिले नै त्यसरी नसोचेको बताउँछन । बरु आफूले पाएको शिक्षा, अनुभव र अवसरलाई नेपालको न्याय प्रणालीलाई अझै उत्कृष्ट बनाउन योगदान गर्ने उनको सोच छ ।

न्यायसेवालाई जनमुखी बनाउने र यसलाई विश्वकै लागि शिक्षा लिने किसिमको बनाउनुपर्ने उनको भनाई छ । नेपालको न्याय प्रणालीको कतिपयले आलोचना गरेपनि उनी भने यसमा सहमत छैनन । ढिलो न्याय पाउने र पहुँचवालाले न्याय पाउने यथार्थता स्वीकार्दै तुलनात्मकरुपमा भने विश्वका कतिपय न्याय्रणालीको तुलनामा नेपाली न्याय क्षेत्रले उल्लेख्य फैसला गरेको बताउँछन । “समस्या हाम्रा फैसला नेपालीमा हुन्छन र अरुले तिनका बारेमा थाहा पाउँदैनन ।” उनी भन्छन्, “अरुका फैसला अंग्रेजीमा पाइन्छन र सोझै नजिरका रुपमा पढन या उल्लेख गर्न मिल्छ तर हाम्रोमा त्यो समस्या छ ।”

जेनेभा पढने बेला भारतीय समकक्षीहरुले आफ्नो देशका फैसलाको चर्चा गर्दै उदाहरण दिने बेला आफूले पनि नेपाली अदालतले गरेका कतिपय उल्लेख्य फैसलाहरुको उदाहरण दिएपनि अंग्रेजीमा नभएको कारण तिनीबारे पर्याप्त चर्चा गर्न नपाएको अनुभव उनले सुनाए ।

जे होस, उज्ज्वल भविष्य उनका सामु छ र सफलताको एउटा उच्च शिखरमा उनी पुगिसकेका छन् । न्यायप्रणालीको सगरमाथामा उनको उपस्थितिको कामना सबैले गर्नैपर्ने अवस्था उनले हामी सामु ल्याएका छन् । आगामी दिनको शुभकामना

कमेन्ट गर्नुहोस्

error: Content is protected !!