७० पुगेका झलनाथ भन्छन्, ‘म ५० वर्ष जस्तो देखिन्छु’

काठमाडौं, चैत १० । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल चैत ५ देखि ७० वर्षमा लागे। उमेर सात दशक पुगेको अवसरमा उनले नयाँ जुक्ति निकाले– एकल शब्द रचनामा दोस्रो गीति एल्बम बजारमा ल्याउने।

यसकै अवसर जुरेको थियो, शनिबार। कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको थियो । प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली।

पार्टीका शीर्ष नेताको बाक्लो उपस्थितिसँगै खचाखच दर्शकका अगाडि खनाल बोले, ‘म ७० वर्ष पुगें । तपाईंहरूलाई विश्वास लाग्दैन होला तर म अझै ५०–६० तिरै छु जस्तो लाग्दै छ।’

उनी २००६ सालमा इलाममा जन्मिएका हुन् । उनलाई ७० वर्षमा पाइला टेकेको विश्वास लागेको रहेनछ । उनले आफ्ना नौ गीत संग्रहित ‘परिवर्तनका स्वरहरू–२’ लोकार्पण कार्यक्रममा ‘तन्नेरीपन’ देखाउन खोजे।

‘म अझ कम्तीमा १५ वर्ष युवा अवस्थामै रहन्छु जस्तो लाग्छ’, उनले भने । उनले यसो भनिरहँदा हल हाँसोले गुञ्जिएको थियो। खनालपछि बोल्ने पालो आयो प्रधानमन्त्री ओलीको । उनी के कम उनले सुरुमै खनालको युवा मनको प्रशंसा गदै दर्शकलाई हँसाए।

‘गीतकार मात्रै होइनन् जेएन कमरेड, यो कार्यक्रमका पनि रचनाकार हुनुहुन्छ’, उनले भने, ‘युवा मनका, जन्मले जन्तरे, कवि÷गीतकार झलनाथ खनाल नेता त भन्नै परेन । पार्टीका पूर्वअध्यक्ष भइसक्नुभएका, पूर्वप्रधानमन्त्री भइसक्नुभएका र लामो समय पार्टीलाई नेतृत्व गरेका व्यक्ति हुनुहुन्छ।’ यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

खनालले २०६२÷६३ को आन्दोलनपछि ‘अभूतपूर्व अवसर’ आएको उल्लेख गरेका थिए । सरकारको नेतृत्वकर्ताले राजनीतिक र आर्थिक क्रान्तिसँगै सांस्कृतिक क्रान्ति पनि अघि बढाउनुपर्ने सुझाव उनले दिएका थिए ।

खनालको गीति एल्बम जनसांस्कृतिक महासंघले बजारमा ल्याएको हो । एल्बमका गीतमा मिलन तिमल्सिनाले संगीत भरेका छन । यम बराल, खुमन अधिकारी, पूर्णकला बीसी, मिलन नेवार, धीरेन्द्र लकान्द्री, अञ्जु घिमिरे, दीपक लिम्बूलगायतले स्वर दिएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!