युरो कप छनोटः इटालीको शानदार सुरुवात

एजेन्सी । युरो कप फुटबलको छनोट खेलमा पूर्वविजेता इटालीले सुखद सुरुवात गरेको छ । समूह ‘जे’ अन्तर्गतको आइतबार बिहान खेलिएको आफ्नो पहिलो छनोट खेलमा इटालीले फिनल्यान्डमाथि २-० गोलको सजिलो जित हासिल गर्‍यो ।

सन् १९६० देखि सुरु भएको युरो कपको इतिहासमा इटालीले हालसम्म एकपटक मात्र उपाधि जित्न सकेको छ । इटालीले सन् १९६८ मा भएको तेस्रो संस्करणको उपाधि चुमेको थियो । सन् २००० र सन् २०१२ मा भने इटाली फाइनलमा पराजित भएको थियो ।

घरेलु मैदानमा आइतबार विहान खेलिएको फिनल्यान्डविरुद्घको खेलमा इटालीले दुबै हाफमा एक÷एक गोल गर्‍यो । खेल सुरु भएको सातौं मिनेटमै निकोलो बारेल्लाले इटालीका लागि पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा मोइस केनले अर्को गोल थप्दै इटालीलाई सहज जित दिलाएका थिए ।

सोही समूहको अर्को खेलमा ग्रिसले लिचस्टेन्टियनलाई उसैको मैदानमा २-० गोलले पाखा लगायो । बोस्निया एन्ड हर्जगोभिनाले भने घरेलु मैदानको फाइदा उठाउँदै आर्मेनियामाथि २-१ गोलको जित हासिल गर्‍यो ।

यसैगरी समूह ‘डी’ अन्तर्गतको खेलमा स्विट्जरल्यान्डले जर्जियालाई उसैको मैदानमा २-० गोलले पराजित गर्‍यो । स्विट्जरल्यान्डका लागि स्टिभन जुबेर र डेनिस जकारियाले एक÷एक गोल गरे । सोही समूहको अर्को खेलमा आयरल्यान्डले जिबराल्टरलाई उसैको मैदानमा १-० गोलले हरायो । भ्रमणकारी टोली आयरल्यान्डका लागि एकमात्र गोल ४९औं मिनेटमा जेफ हेनरिकले गरेका थिए ।

कमेन्ट गर्नुहोस्