आइपीएलः पहिलो खेलमै धोनीको टिम ७ विकेटले विजयी

काठमाडौं, चैत ९ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा तीन पटकको उपाधि विजेता चेन्नई सुपर किंग्सले शानदार शुरुवात गरेको छ । उसले उद्घाटन खेलमा विराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराउँदै शानदार शुरुवात गरेको हो ।

बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले १७.४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो । उसका लागि अम्बाती रायडूले २८, सुरेश रैनाले १९ रन बनाउँदा शेन वाट्सनले खाता नै खोल्न सकेनन् । यस्तै, केदार जाधव १३ र रविन्द्र जडेजा ६ रनमा अविजीत रहे । बलिङमा भारतका युजवेन्द्र चहल, मोइन अलि र मोहम्मद सिरिजले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको ब्यंग्लोरले १७.१ ओभरमा सबै विकेट गुमाउँदै ७० रन मात्र बनाउन सक्यो ।

उसका लागि पार्थिव पटेलले सर्बाधिक २९ रन बनाए । यस्तै, कप्तान विराट कोहली ६, एबी डी विलियर्स, मोइन अलि ९–९, कोलिन डी ग्रेण्डहोम, युजवेन्द्र चहल ४–४, शिवम दूवे, नवदिप सैनी २–२, उमेश यादव १, शिमरन हिटमायर शून्य रनमै आउट भए । बलिङमा चेन्नईका हरभजन सिंह, इमरान ताहिरले ३–३, रविन्द्र जडेजा र डीजे ब्रोबाले एक–एक विकेट लिए ।

रैनाको ५ हजार रन पूरा
भारतीय क्रिकेटर सुरेश रैनाले आइपीएलमा ५ हजार रन पूरा गरेका छन् । आइपीएलमा ५ हजार पूरा गर्ने उनी एक्ला ब्याट्सम्यान हुन् । यसअघि, १७२ खेलमा ४९८५ रन बनाएका रैनाले आज रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध १५ रन प्रहार गर्दै आइपीएलमा ५ हजार पूरा गरे । उनी इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सबाट खेल्छन् । अहिलेसम्म यो क्रिकेट लिगमा रैनाले एक शतक र ३५ अर्धशतक प्रहार गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!