आइपीएलः धोनी र विराटको टिम भिड्दै, चेन्नईले टस जित्यो

काठमाडौं, चैत ९ । इन्डियन प्रिमियर लिग (आइपीएल) १२औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स ब्यंग्लोर विरुद्ध चेन्नई सुपर किंग्सले टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि चेन्नईमा शुरु हुँदै छ । ब्यंग्लोरको नेतृत्व विराट कोहलीले र चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका छन् ।

आईपीएल इतिहासमै सबैभन्दा सफल टिम चेन्नई हो । उसले अहिलेसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ । विराटले नेतृत्व गरेको बेंगलोर भने आईपीएलको अभागी टोलीको रुपमा गनिन्छ । किनभने स्टार खेलाडीले भरिएर पनि उसले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

सीएसके र आरसीबी अहिलेसम्म आईपीएलमा २२ पटक आमनेसामने भएका छन् । जसमध्ये १४ खेलमा सीएसकेले जित हात पारेको छ भने ७ खेलमा आरसीबीले जित हात पारेको छ । एक खेल भने नतिजाविहीन भएको छ ।

दुवै टिम स्टार खेलाडीले भरिपूर्ण भएकाले पनि आईपीएल २०१९ को पहिलो खेल नै रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । यसपटक आईपीएलमा ८ टिमको सहभागिता छ । चेन्नई र बेंगलोरका अलावा मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पन्जाब आईपीएलमा सहभागी टिम हुन् ।

नेपाली युवा स्टार सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । यसअघिको सिजनमा अन्तिम तीन खेलमा मात्र अवसर पाएका सन्दीप यसपटक सुरुवातदेखि नै पहिलो रोजाइमा पर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्