मन्त्री पुनद्वारा ‘माथिल्लो तामाकोसी’ को निरीक्षण, मंसिरभित्र आयोजना सम्पन्न

काठमाडौं, चैत ९ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ ले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको निरीक्षण गरेका छन् । मन्त्री पुन दोलखाको विगु गाउँपालिकामा निर्माणाधीन ४५६ मेगावाट क्षमता भएको तामाकोसी जलविद्युत आयोजनाको अवस्थाबारे जानकारी लिन शुक्रबार साँझ दोलखा पुगेका थिए ।

मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्ण ओलीसहित आयोजनास्थल पुगेका हुन्। उनले तोकिएको समयमा आयोजना ल्याउनुपर्ने भन्दै त्यसमा गम्भीर भएर काम गर्नसमेत निर्देशन दिए।

शनिबार बिहान आयोजनाको बांधस्थल,सुरुङ, माथिल्लो पेनस्टक र तल्लो पेनिस्टकको अवस्थाको बारेमा फिल्डमै पुगेर उनले जानकारी लिए। मन्त्री पुनले करिब ३ घन्टा आयोजना स्थलकै निरीक्षणमा बिताएका हुन् ।

उनले आयोजनाको अनुगमन, निरीक्षण र समस्याको समाधान गर्न र सहजीकरणको लागी आफू प्राधिकरण र आयोजनाका उच्च पदस्थ अधिकारीसहित फिल्डमै आएको बताए ।

आयोजना प्रमुख दिनेशजंग राना र प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठसँग समेत आयोजनाको प्रगतिबारे उनले जानकारी लिए । ऊर्जामन्त्री पुनले माथिल्लो तामाकोसी आगामी मंसिरभित्र सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!