नेकपा एकताः कुन प्रदेशमा कति एकीकरण?

प्रदेश १ : ५ जिल्लाका सबै स्थानीय तहमा एकीकरण
प्रदेश १ का ताप्लेजुङ, पाँचथर, तेह्रथुम, झापा र धनकुटाका सबै स्थानीय तहमा एकीकरण सकिएको छ । प्रदेश कमिटी इन्चार्ज भीम आचार्यले ती जिल्लाका स्थानीय नेतृत्वको नामावली प्रदेश कमिटीले स्वीकृत गरिसकेको बताए । बाँकी ९ जिल्लाको स्थानीय तहमा एकीकरण पनि १५ चैतभित्र सक्ने गरी काम भइरहेको उनको दाबी छ । ‘बाँकी जिल्लामा १५ गतेभित्र एकीकरण सक्न निर्देशन दिएका छौँ,’ आचार्यले भने । प्रदेश १ मा समग्रमा साबिक एमाले र माओवादीले ६०/४० को अनुपातमा स्थानीय तहको नेतृत्व बाँडफाँड गरेको आचार्यले बताए ।

प्रदेश २ : स्थानीय नेतृत्व अनुमोदनको तयारी
प्रदेश २ संगठन कमिटीले आठवटै जिल्लाका स्थानीय तहको नेतृत्वको नामावली अनुमोदनको तयारी गरेको छ । ‘जिल्लास्तरीय कार्यदलले सबै जिल्लाबाट स्थानीय तहको एकीकरण प्रस्ताव पठाइसकेका छन्,’ इन्चार्ज सत्यनारायण मण्डलले भने, ‘एकाधबाहेक अधिकांश तहको नामावली छिट्टै प्रदेश कमिटी बैठक बोलाएर अनुमोदन गर्छौँ ।’

प्रदेश ३ : ५ जिल्लाको एकीकरण
प्रदेश ३ का तीन जिल्ला दोलखा, सिन्धुली र रसुवाको वडा तहसम्म एकीकरण भएकोमा रामेछाप र ललितपुरका स्थानीय तहको एकीकरण प्रस्ताव तयार भइसकेको छ । बाँकी कतिपय जिल्लामा भने पूर्वएमाले र पूर्वमाओवादी समूहमा आन्तरिक विवाद भएकाले गति नलिएको प्रदेश संगठन कमिटी इन्चार्ज नारायण दाहालले बताए । ‘१४ चैतमा प्रदेश कमिटीको शपथ हुँदै छ, त्यसवेलासम्म जिल्ला इन्चार्ज, अध्यक्ष र सचिवको नामावली केन्द्रीय सचिवालयले टुंगो लगायो भने बाँकी एक हप्ताभित्र सबै जिल्ला कमिटी सर्वसम्मत टुंग्याउँछौँ,’ दाहालले भने ।

गण्डकी : एकीकरण शून्यमै
गण्डकी प्रदेशले भने अहिलेसम्म कुनै पनि स्थानीय तहको एकीकरण टुंग्याउन सकेको छैन । तर, प्रदेश इन्चार्ज पृथ्वी सुब्बा गुरुङले चैतभित्रै स्थानीय तह र जनसंगठनको एकीकरण टुंगो लगाउने गरी आन्तरिक गृहकार्य भइरहेको दाबी गरे । पूर्वएमाले र पूर्वमाओवादी समूहमध्ये कुन जिल्लामा कसले नेतृत्व लिने भन्नेमै विवाद छ । ‘तल कार्यदल तहमा काम भइरहेको छ, तर माथिबाट जिल्ला नेतृत्व टुंगो लागेपछि मात्र स्थानीय तहहरूको पनि एकीकरण अघि बढ्छ,’ सहइन्चार्ज हितराज पाण्डेले भने ।

प्रदेश ५ : सबै स्थानीय तहमा एकीकरण
पाँच जिल्लाका सबै वडासम्म एकीकरण टुंग्याएको प्रदेश ५ कमिटीले तहको एकीकरण भने १२ वटै जिल्लामा सकेको छ । प्रदेश सचिव जगप्रसाद शर्माका अनुसार प्रदेशका १ सय ९ वटै स्थानीय तहमा एकीकरण सम्पन्न भएको छ । तीमध्ये सय स्थानीय तहका नेतृत्वको शपथग्रहण पनि सकिएको छ । शर्माका अनुसार रुकुमका ३, रोल्पाका २ र दाङका ५ तहमा मात्र शपथ हुन बाँकी छ । पाल्पा, बर्दिया, प्युठान, कपिलवस्तु र रुपन्देहीको स्थानीय तहका भने वडासम्म नै एकीकरण लगभग टुंगिएको छ ।

कर्णाली : जिल्ला र स्थानीय भेला
कर्णाली प्रदेशको डोल्पा, जुम्ला, जाजरकोट र मुगुका केही स्थानीय तहका वडा तहसम्म एकीकरण सम्पन्न भएको अध्यक्ष गोरखबहादुर बोगटीले बताए । कर्णाली प्रदेशले जिल्ला, निर्वाचन क्षेत्र, स्थानीय तहका वडासम्म पार्टी र सरकारबीचको सम्बन्ध सुधार तथा संगठन सुदृढीकरण अभियान चलाएर एकीकरणको आधार तयार गरेको छ । ‘भेला र अन्तरक्रियाले कार्यकर्ता तहमा एकीकरणको सन्देशसँगै उत्साह सिर्जना गरेको छ,’ बोगटीले भने, ‘पार्टी र सरकारबीचको सम्बन्ध पनि सुधार भएको छ ।’

सुदूरपश्चिम : ७ जिल्लामा वडा तहसम्म एकीकरण प्रस्ताव
सुदूरपश्चिमका ७ जिल्लाले क्षेत्रीय कमिटी, गाउँपालिका, नगरपालिका र वडा तहसम्मको कमिटीको एकीकरण प्रस्ताव तयार पारेका छन् । सहइन्चार्ज लक्ष्मीदत्त जोशीका अनुसार अहिलेसम्म कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र बैतडी जिल्लामा वडा तहसम्मको एकीकरण प्रस्ताव तयार भएको छ । दार्चुला र कञ्चनपुरमा भने धमाधम काम भइरहेको छ । ‘दुई जिल्लाको पनि प्रतिवेदन आएपछि एकीकरण कार्यदलको प्रतिवेदनका आधारमा प्रदेशको बैठक बसेर सबै जिल्लाका स्थानीय तहको एकीकरण टुंग्याउँछौँ,’ जोशीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा शुरोजङ्ग पाण्डेले लेखेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!