उपचारको क्रममा महिलाको मृत्यु भएपछि अस्पतालमा तनावग्रस्त

धनगढी, चैत ८ । उपचारको क्रममा महिलाको मृत्यु भएपछि सेती अञ्चल अस्पताल धनगढी तनावग्रस्त बनेको छ ।

चिकित्सकको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयले अञ्चल अस्पताल घेरा हालेका छन् ।

सेती अञ्चल अस्पतालमा प्रसुती गराएकी धनगढी उपमहानगरपालिका–१२, जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएको थियो । ४ चैतमा अस्पतालमा भर्ना भएकी रेखाको शल्यक्रियामार्फत बच्चा जन्माइएको थियो ।

उनलाई प्रसुतीपछि दुई दिनसम्म अस्पताल राखिएको थियो । प्रसुती व्यथा लागेर सामान्य अवस्थामा अस्पताल भर्ना गरिएकोमा चिकित्सकले उपचारमा लापरबाही गरेको कारण मृत्यु भएको रेखाका श्रीमान जय थापाले बताए ।

अस्पतालका अनुसार शल्यक्रियापछि उनको पेट सुनिने समस्या देखिएको थियो । आफन्तका अनुसार रेखालाई जण्डीस भएको भन्दै डाक्टरले बुधबार जण्डिसको उपचार गरेका थिए । तर पेट सुनिने समस्या यथावत रहेपछि अञ्चल अस्पतालले बिहीबार उनलाई उपचारको लागि अन्यत्र लैजान सुझाव दिएको थियो ।

रेखाको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा बाटौमै मृत्यु भएको जयले बताए । उपचारमा लापरबाही गर्ने चिकित्सक र नर्सलाई कारबाही गर्नुपर्ने माग राख्दै आफन्तले शव बुझेका छैनन् । दोषीलाई कारबाही गर्ने प्रतिवद्धता भएमात्र शव उठाउने उनीहरुको माग छ । नयाँपत्रिकादैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!