धुवाँ नफाली फोहोर जलाउने प्रविधि परीक्षण गरिँदै

काठमाडौं, चैत ८ । धुवाँ नफाली फोहोर जलाएर खरानी बनाउने प्रविधि परीक्षण गरिने भएको छ । इरमा इन्टरनेसनल कम्पनीले जापानी प्रविधि ‘वेस्ट टु वेल्थ’ नेपाल भित्र्याउन लागेको हो । सहरी क्षेत्रको फोहोर व्यवस्थापनमा चुनौती थपिइरहेका वेला कम्पनीले वातावरणमैत्री प्रविधि ल्याउन लागेको दाबी गरेको छ । ‘यो प्रविधिले प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन गर्न सहज हुनेछ,’ कम्पनीका अध्यक्ष प्रभाकर शाहले भने ।

कम्पनीले यही महिना तीनवटा मेसिन ल्याउने जनाएको छ । फोहोर जलाउने र त्यसबाट उत्पादन भएको धुलो प्रशोधन गरी मल र अलकत्रा बनाउने मेसिन ल्याउन लागेको शाहले बताए । प्रविधि काठमाडौं महानगरपालिका र प्रदेश ३ ले परीक्षण गर्ने भएका छन् । कम्पनीले परीक्षणका लागि प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग छलफलसमेत गरिसकेको छ ।

के हो वेस्ट टु वेल्थ ?
यस प्रविधिमा आधारित मेसिन फरक–फरक क्षमताका छन् । कम क्षमताका मेसिनले प्रतिघन्टा एक मेट्रिक टन र बढी क्षमताका मेसिनले चार मेट्रिक टन प्रतिघन्टा फोहोर जलाउन सक्छन् । नेपालमा ल्याउन लागिएको मेसिन कम क्षमताको हो । मेसिनमा दुईवटा ढोका हुन्छन् । एउटा ढोकाबाट फोहोर राखिन्छ भने अर्को ढोकाभित्र रहेको बर्नरमा आगो सल्काइन्छ ।

आगो फोहोर बाल्न सल्काइने भने होइन, यो सल्किएपछि सिएलजी ग्यास उत्पादन हुन थाल्छ । त्यसबाट उत्पन्न तापले भोल्कानो प्रणाली अवस्था सिर्जना गर्छ । यसको तलपट्टि ३०० डिग्री, बीचमा ५०० डिग्री र माथिल्लो भागका ८०० डिग्री ताप हुन्छ । यही तापले फोहोरलाई खरानी बनाउँछ । फोहोरमा आएको सिसा तल्लो भागमा जम्मा हुन्छ भने फलामलाई मेसिनभित्रको चुम्बकीय शक्तिले एकै ठाउँमा भेला पार्छ । यसको चिम्नीबाट तातो हावा निस्किन्छ । यो हावाबाट बिजुली निकाल्न सकिनेबारे परीक्षण भइरहेको छ ।

यसबाट निस्किएको खरानीलाई मल र सडक निर्माणमा प्रयोग गर्न सकिन्छ । ‘कुहिने फोहोरका खरानी मलका रूपमा प्रयोग गर्न सकिन्छ । प्लास्टिकजन्य फोहोरबाट निस्किएको खरानी सिमेन्ट उद्योग र सडक निर्माणमा प्रयोग गर्न सकिन्छ । त्यसले लेपको काम गर्छ र सडक बलियो बन्छ’ शाहले भने । मेसिन एक ठाउँबाट अर्को ठाउँमा सहजै लैजान सकिने उनको भनाइ छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्