प्रचण्ड र पूर्व अमेरिकी राजदूत स्कट डेलिसीबीच भेट, यस्तो भयो कुराकानी

काठमाडौं, चैत ७ । नेकपा माओवादीको शान्ति प्रक्रियामा अवतरणको बेला महत्वपूर्ण भूमिका खेलेका पूर्व अमेरिकी राजदूत स्कट र प्रचण्डबीच भेट भएको छ । उपचारका लागि अमेरिकामा रहेका प्रचण्डसँग भेटबारे सामाजिक सञ्जालमार्फत उल्लेख गर्दै डेलिसीले शान्ति प्रक्रियालाई अघि बढाउन प्रचण्डसँग लामो सहकार्य गरेको सम्झना गरेका छन् ।

‘म राजदूत छँदा उहाँ माओवादी नेता हुनुहुन्थ्यो । मैले शान्ति प्रक्रिया टुंग्याउन नजिक रहेर काम गरे ।’ डेलिसीले लेखेका छन, ‘हाम्रो प्रायजसो भेट हुन्थ्यो, छलफल हुन्थ्यो । हाम्रा छलफल गतिशील हुन्थे, कतिपय अवस्थामा मतभेद पनि । तर हामी शान्तिको बाटो पहिल्याउने विषयमा हामीले सँगै काम गर्यौ ।’

डेलिसीले झण्डै सात वर्षपछि प्रचण्डसँग भेट भएको बताउँदै डेलिसीले नेपालले अहिले शान्ति र मेलमिलापको यात्रालाई पूर्णता दिने अवस्थामा पुगेकोमा खुशी भएको बताएका छन् । ‘अब विगतमा झुण्डिने होईन’ डेलिसिले लेखेका छन, ‘बरु भविष्यका चुनौतीबारे छलफल गर्दै सुदृढ र समृद्ध नेपालको निर्माणबारे हामीले कुरा गर्यौं ।’

डेलिसिले देशको नेता भएको हैसियतले प्रचण्डले नेपालका सामु रहेका चुनौती हल गर्न सक्षम हुने विश्वास समेत व्यक्त गरेका छन् । स्कटले हाल सोरअवे फाउण्डेसनमार्फत नेपालको सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!