कक्षा ८ को परीक्षा दिँदै गाउँपालिका उपाध्यक्ष चौधरी

दाङ, चैत ६ । दाङको गढवा गाउँपालिकाका उपाध्यक्ष ४८ वर्षीया शान्ति चौधरी कक्षा ८ को परीक्षामा सहभागी भएकी छन् । वडा नं ६ निवासी चौधरी जनता उच्च माध्यमिक विद्यालयबाट यस वर्षको कक्षा ८ को परीक्षामा सहभागी भएकी हुन् ।

कक्षा ५ मा पढ्दापढ्दै विसं २०५३ मा पढाइ छाडेकी उनी यसै वर्ष कक्षा ८ मा भर्ना भएकी हुन् । ‘पढाइलाई उमेरले छेक्दैन भन्ने मान्यतालाई आत्मसात् गर्दै परीक्षामा सहभागी भएको हुँ’ उनले भनिन् ।

सानोमा पढ्दापढ्दै छोडेको भए पनि हरेक क्षेत्रमा अगाडि बढ्न पढाइ महत्वपूर्ण हुने भएकाले पुनःपढाइ शुरु गरेको उनको भनाइ थियो । चार भाइ र चार बहिनीले उच्च शिक्षा अध्ययन गरेपनि आफूले बीचमै पढाइ छोडेको उनको भनाइ थियो । जनप्रतिनिधि भइसकेपछि पढाइको महत्व बुझेर निरन्तरता दिन लागेको उनले सुनाइन् ।

उनकी एक छोरा र दुई छोरीले पनि उच्च शिक्षा अध्ययन गरिरहेका छन् । उपाध्यक्ष भएर न्यायिक समितिको जिम्मेवारी सम्हाल्दा पढाइ नहुँदा धेरै कमजोर बनाउने महसुस गरेकोले यसलाई निरन्तरता दिएको उपाध्यक्ष चौधरीले बताइन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका सचेतक शान्ता चौधरीले पढेको सुनेपछि आफूलाई पनि पढ्नुपर्छ भन्ने थप भावना पैदा भएको उनको भनाइ थियो । परीक्षा अवधिभर पनि उनले गाउँपालिकाको काम र परीक्षालाई सँगै अगाडि बढाएकी छन् । दश बज्नेबित्तिकै गाउँपालिका पुग्ने उहाँ दुई घण्टासम्म गाउँपालिकाको काम गर्नुहुन्छ भने १२ बजे परीक्षा दिन परीक्षा केन्द्र जान्छिन् ।

कमेन्ट गर्नुहोस्