भारतबाट फरार हीरा व्यापारी लण्डनमा पक्राउ

नयाँ दिल्ली, चैत ६ । भारतको पन्जाब नेशनल बैंकमा अर्बौं रुपैयाँको ऋण नतिरेर फरार रहेका भारतीय हीरा व्यापारी नीरव मोदीलाई संयुक्त अधिराज्यको प्रहरीले गिरफ्तार गरेको छ ।

लामो समयदेखि ब्रिटेनमा बस्दै आएका मोदीविरुद्ध ब्रिटेनले यस्त्तो कारवाही गरेको हो । उनलाई बुधबार लण्डनको हलबर्न मेट्रो स्टेसनबाट गिरफ्तार गरिएको समाचार न्युज-१८ ले प्रकाशित गरेको छ ।

संयुक्त अधिराज्य प्रहरीले पनि ट्वीटरमार्फत् ‘फारार’ हीरा व्यापारी नीरव मोदी गिरफ्तार भएको जनाएको छ । उनलाई आज नै वेस्टमिनिस्टर अदालतमा पेस गरिने भएको छ । उनी पन्जाब नेसनल बैंकको १३ अर्ब भारु ऋण नतिरेरै भारत छोडेर गएका थिए ।

भारतमा केन्द्रीय अनुसन्धान ब्युरो, सीबीआई मोदीको प्रत्यर्पणको प्रयासमा लागेको छ । भारतबाट फरार भएपछि मोदी लगभग ८० लाख पाउण्ड मूल्यको सुविधासम्पन्न फ्ल्याटमा बस्दै आइरहेका थिए । उनलाई केही दिन अगाडि मात्रै न्युज-१८ का पत्रकारहरूले लण्डनका सडकमा भेटेका थिए ।

मोदीले ऋण लिएर नतिरेको पन्जाब नेशनल बैंकको एभरेष्ट बैंकमा लगानी रहेको छ ।

 

कमेन्ट गर्नुहोस्