साफ च्याम्पियनसिपः फाइनलमा नेपालको भिडन्त भारतसँग

विराटनगर, चैत ६ । विराटनगरको दशरथ रंगशालामा जारी ‘साफ महिला च्याम्पियनसिप फुटबल’ को फाइनलमा नेपाल र भारत खेल्ने भएका छन् ।

दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ४–० ले पराजित गर्दै भारतले फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गरेको थियो ।

पहिलो सेमिफाइनलमा नेपालको जितका लागि पहिलो हाफमा एक गोल र दोस्रो हाफमा तीन गोल भयो। नेपालको लागि पुनम जर्गा मगर, अनिता बस्नेत, सावित्रा भण्डारी र रेखा पौडेलले समान एक एक गोल गरे।

पहिलो गोल नेपालका लागि ४२ औं मिनेटमा पुनम जर्गा मगरले गरिन्। खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोश्रो गोल गरिन्।

त्यसैगरी खेलको ८२ औं मिनेटमा अनिता बस्नेतकै पासमा सावित्रा भण्डारीको हेडर बलले श्रीलंकाको जाली चुमेपछि नेपालले ३–० ले अग्रता लियो।

श्रींलकाको कमजोर रक्षापंक्तिको फाइदा उठाउने क्रममा नेपालले खेल सकिन चार मिनेट बाँकी हुँदा चौथो गोल गर्यो। रेखा पौडेलले नेपालका लागि चौथो गोल गरेकी थिइन्

पौडेल खेलको ६४ औं मिनेटमा कप्तान निरु थापाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। आफ्नो तेश्रो अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा पौडेल पहिलो गोल गर्न सफल भइन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नेपालको लक्ष्य उपाधि रहेको बताए। नेपालले भारतसँग शुक्रबार फाइनल खेल्ने छ । प्रतियोगितामा नेपाल र भारत दुवै टिमले कुनै गोल खाएका छैनन् । भारत चारपटकको विजेता हो । नेपालले भने तीन पटक फाइनल यात्रा तय गरेको छ ।

कमेन्ट गर्नुहोस्