नागरिकतामा उपनाम पनि राख्न पाइने

काठमाडौं, चैत ५ । नागरिकतामा आफ्नो उपनामसमेत राख्न पाइने व्यवस्था गरिने भएको छ । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिले नागरिकता विधेयक माथिको छलफलका क्रममा उक्त व्यवस्था राखेको हो।

नागरिकता विधेयकको दफा ५ मा नागरिकता लिँदा आफ्ना समुदायको थर वा उपनाम राख्न पाइने व्यवस्था गरिएको हो। विधेयकमा भनिएको छ, ‘यस ऐन बमोजिम नागरिकता लिने कुनै पनि समुदायको व्यक्तिले चाहेमा सम्बन्धित समुदायभित्रको थर वा कुनै उपनाम राखी तोकिए बमोजिम नागरिकताको प्रमाणपत्र लिन सकिनेछ ।’

नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छदफलका क्रममा छ । सोही विधेयकको छलफलमा यसअघि आफ्ना सन्तानलाई नागरिकता दिनु बुवाआमाको कर्तव्य रहने व्यवस्था राखिएको थियो।

कतिपय अवस्थामा बाबुआमाले सन्तानलाई नागरिकता दिन आनाकानी गरेको पाइएकाले यस्तो व्यवस्था राखिएको हो। सन्तानलाई नागरिता दिलाउनु आमाबुवाको दायित्व भएकोले यदि त्यसका लागि आनाकानी गरेको फेला परे कानुनी कारबाहीको भागीदार हुनेमा समेत सांसदहरुबीच सहमति बनेको थियो।

कमेन्ट गर्नुहोस्