मोजाम्बिकको आँधी-बेहरीमा परी मृत्यु हुनेको संख्या हजार नाघ्न सक्ने राष्ट्रपतिको भनाइ

काठमाडौँ, चैत ५ । मोजाम्बिकमा गत साता आएको आँधी-बेहरीमा परेर मारिनेहरूको सङ्ख्या हजार नाघेको बताइएको छ । ‘इडाई’ नाम दिइएको यस चक्रवाती आँधी-बेहरीले छिमेकी देश जिम्बाब्वेमा समेत तहस नहस मच्चाएको छ ।

सोमवार राष्ट्रिय रेडियोमा सम्बोधनको क्रममा मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसीले हालसम्म ८४ जनाको ज्यान गएको र २०० जना बेपत्ता भएको आधिकारिक आँकडा रहेको भएपनि चक्रवातको प्रकृति हेर्दा मर्नेहरूको संख्या हजार नाघेको हुनुपर्ने बताए ।

उनले भने, ‘यति मात्र होइन यस त्रासदीमा एकलाख मानिस अझै फसिराखेका छन् ।’

मोजाम्बिकसँगै सीमा जोडिएको जिम्बाब्वेमा मात्रै मर्नेहरूको संख्या ८९ रहेको त्यहाँका सरकारी प्रवक्ताले जानकारी दिएका छन् ।

गएको बिहिबार आएको यस विनासकारी आँधी-बेहरीको मुख्य प्रकोप मध्य मोजाम्बिकको शहर बेइरामा देखा परेको थियो । त्यहाँ अचानक बाढी आएको र सडक तथा घर बगेको बताइन्छ । त्यसपछि आँधी-बेहरी जिम्बाब्वे प्रवेश गरेको बताइन्छ ।

मोजाम्बिकका राष्ट्रपति फिलिप न्युसीले राष्ट्रलाई गरेको सम्बोधनमा यो आजसम्मकै सबैभन्दा ठुलो प्राकृतिक प्रकोप रेहको बताए ।

कमेन्ट गर्नुहोस्