बुद्धले थप्यो एक अर्बको एटीआर, जहाजकाे संख्या १२

काठमाडौं, चैत ५ । निजी क्षेत्रको सर्वाधिक यात्रु उडान गर्ने बुद्ध एयरले १ अर्ब हाराहारीमा फ्रेन्च-इटालियन एटीआर ७२-५०० विमान थपेको छ । फ्रान्सको टुलुज शहरबाट बिहीबार उडेको विमान सोमबार बेलुकी काठमाडौंमा अवतरण भएको थियो । उक्त विमान फ्रान्सबाट माल्टा, कायरो, दुबई, अमाहवाद हुँदै काठमाडौं आइपुगेको हो ।

बुद्ध एयरका अनुसार, अल्फा याँकी माइक नेपाली कल साइन भएको योसहित बुद्धसँग १२ वटा विमान भएका छन्। यीमध्ये ७२ यात्रु क्षमतायुक्त एटीआर-७२ को संख्या ७ पुगेको छ। बुद्धसँग एटीआर४२-३२० तीनवटा र दुईटा १९ सिट क्षमताका अमेरिकन विमान बिचक्राफ्ट १९००-डी छन्।

‘यसको मुल्य १ अर्ब हाराहारी पर्‍यो,’ बुद्धका एक अधिकारीले भने, ‘ हिमालयन र एभरेष्ट बैंकको संयुक्त ऋण लगानीमा खरिद गरेका हौं।’ विमान लिन बुद्धका बरिष्ठ क्याप्टेन प्रमोद थापा र अनन्त डंगोलसहित नौं जना प्राविधिक कर्मचारी फ्रान्स गएका थिए। नामसारी लगायतका सरकारी प्रक्रिया मिलाउन उनीहरुसँगैं नागरिक उड्डयन प्राधिकरणको हवाई सुरक्षा विभागका इन्जिनियर रितेशराज पन्तको टोली फागुन ४ गते काठमाडौंबाट त्यता गएको थियो।

बुद्धले एटीआरसँग किनेको यो एटीआर यसअघि फ्रान्सेली प्रवासी क्षेत्रमा पर्ने ताहीतीस्थित एयर ताहीतीले उडाउँदै आएको थियो। २००७ मे देखि यो विमान उडाउँदै आएको ताहीतीले एटीआरबाट २ अर्ब ७५ करोड रुपैया हाराहारी पर्ने नयाँ संस्करणको एटीआर ६००-७२ खरिद गरेपछि एटीआरले यो विमानको एक महिनाअघि स्वामित्व लिएको थियो। यो समाचार आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन् ।

अधिकतम उडान भार २२ हजार ५ सय केजी रहेको यो संस्करणको विमानमा क्यानेडियन टर्बोप्रोप पिडब्लू१२७ इन्जिन हुन्छ। क्षेत्रीय शहर र क्रस-बोर्डरकालागि यो विमान पछिल्लोपटक विश्वभर उड्डयन व्यवसायीहरुले रुचाएको उत्पादनमध्ये पर्छ।

नेपालमा सबैभन्दा धेरै एटीआर विमान उडानमा प्रयोग गर्ने बुद्ध हो। यसपछि यती एयरलाइन्ससँग तीनवटा छन्।बुद्धले जहाज बढाएसँगै भद्रपुर र नेपालगञ्जमा दैनिक तीनवटा उडान भर्ने जनाएकाेछ।

कमेन्ट गर्नुहोस्