मूलधारको राजनीतिमा आउँदै सिके राउत, दल दर्ताको तयारी

सिरहा, चैत ४ । लामो समयदेखि मधेशमा पृथकतावादी आन्दोलन चलाइरहेका डा. सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धन मूलधारको राजनीतिमा आउने भएको छ । सिरहा जिल्लाको लहान नगरपालिका वडा नं-७ मा चैत्र ३-४ गते बसेको उक्त गठबन्धनको राष्ट्रिय परिषद्को बैठक (केन्द्रीय भेला) ले नेपालको संविधानभित्र रहने गरी ‘जनमत पार्टी’ नामको नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो ।

जनमत पार्टीका केन्द्रिय सदस्य अब्दुल खानले विभिन्न जिल्लाबाट आएका १५० भन्दा बढी प्रतिनिधिहरुको सहभागितामा उक्त निर्णय पारित भएको जनाएका छन् ।

खानले जारी गरेको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै  स्वतन्त्र मधेश गठबन्धनले “मधेश स्वराज आन्दोलन”मा समर्पित भएर योगदान दिँदै आएका सम्पूर्ण नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक तथा आम-जनताको योगदानको उच्चतम कदर गर्दै स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई ऐतिहासिक तथा मधेशी जनताको लागि अभूतपूर्व उपलब्धि भएको घोषित गर्दै राष्ट्रिय परिषद्ले सहमतिलाई स्वागत गरेको बताएका छन् ।

नयाँ पार्टीको अध्यक्षमा डा. सिके राउत हुने र पार्टीको झण्डामा क्रमश: रातो, सेतो र हरियो रंगको ठाड़ो धर्का (स्ट्रीप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय गरेको छ।

साथै पार्टीले अष्टदल चुनाव चिन्ह राख्ने गरी निर्वाचन आयोगमा दल दर्ताको निम्ति आवेदन दिने समेत निर्णय गरेको छ ।
केन्द्रिय भेलाले पार्टीको लागि ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समिति चयन गरेको छ। पार्टीले निर्वाचन आयोगमा दल दर्ता भए सँगै केन्द्रिय कार्यकारिणी समितिलाई विस्तार गरिने जनाएको छ । केन्द्रिय समितिमा थप सदस्य मनोनित गर्ने जिम्मेबारी सर्वसम्मतिले राष्ट्रिय अध्यक्षलाई दिइएको छ ।

हाल गठन भएको ३५-सदस्यीय केन्द्रिय कार्यकारिणी समितिमा डा. सिके राउत राष्ट्रिय अध्यक्ष तथा ३४ जना केन्द्रिय सदस्य रहेका छन् । केन्द्रिय सदस्यहरुमा कैलाश महतो (महोत्तरी), राज कुमार यादव (सिरहा), अब्दुल खान (बर्दिया), चन्दन सिंह (महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिला महतो (झापा), परमेश्वर मुर्मु (मोरंग), सीताराम पंडित (सुन्सरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), इन्द्रजीत यादव (धनुषा), संजय यादव (महोत्तरी), नरेश कुशवाहा (सर्लाही), वीरेन्द्र साह (रौतहट), दिनेश यादव (बारा), संजय साह (पर्सा), ध्रुव गौड (नवलपरासी), भोपेन्द्र यादव (रुपन्देही), हकीकुल्लाह खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेख (बाँके), महेन्द्र प्रसाद चौधरी (कैलाली), दुर्गा चौहान (नवलपरासी) र आशा मेहता (सुन्सरी) रहेका छन्। बाँकी १० जना सदस्यहरु मध्ये महिला, दलित,जनजाति, अल्पसंख्यक सहितको प्रतिनिधित्व हुने गरी मनोनित गर्न सर्वसम्मतिले जिम्मेबारी पार्टीका राष्ट्रिय अध्यक्षलाई दिइएको छ।

साथै  स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारको बीचमा २०७५/११/२४ गते भएको ११-बूँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै स्वतन्त्र मधेश गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अविलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने जिम्मेवारी पूरा गर्न चन्दन सिंहको संयोजकत्वमा तीन-सदस्यीय सहमति कार्यान्वयन समिति निर्माण गरिएको छ ।

त्यसका साथै प्रहरी हिरासतमा मारिएका बाँके जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमति अनुसार क्षतिपूर्ति तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउने पहल अविलम्ब थाल्न पनि सो समितिलाई जिम्मेबारी दिइएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!