थप्पड काण्डदेखि गालीकाण्डसम्म: यी हुन् आइपिएलको इतिहासका चर्चित काण्ड

इण्डियन प्रीमियर लीग (आइपिएल) सुरु भएको धेरै भएको छैन । लामो समयदेखि भारतमा क्लब स्तरीय प्रिमियर लीगको परिकल्पना गरिएको भएपनि यसले मूर्त रुप लिएको भने २००८ देखि मात्र हो । सन् २००७ मा भएको पहिलो टी-ट्वेन्टी विश्वकप भारतले जितेपछि बिसिसिआइले आइपिएल सुरु गर्ने निर्णय गरेको थियो ।

हाल यो विश्वकै सबै भन्दा बढी दर्शक भएको क्रिकेट लीग हो । सन् २००४ मा यो विश्वकै चौथो सबैभन्दा बढी दर्शक तान्ने खेल प्रतियोगिता भएको थियो । ठुलो लोकप्रियता, थुप्रो पैसा र विश्वभरिका स्टार क्रिकेटरहरूको सहभागिता हुने आइपिएल र विवादहरूको सम्बन्ध भने पुरानै हो । ‘स्पट फिक्सिङ’ लगायत कैयन काण्डहरूले आइपिएललाई विश्वको प्रतिष्ठित क्रिकेट लिग हुनुभन्दा बढी चर्चा दिलाएको छ । यस्ता काण्डै-काण्डले आइपिएल अझ लोकप्रिय भएको छ भन्नुपर्दा अतिशयोक्ति नहोला । यहाँ केही आइपिएल काण्डहरूबारे चर्चा गरिएको छ ।

१. कावेरी जल विवाद काण्ड

हुन त कावेरी जल विवाद दुई दक्षिण भारतीय राज्य तमिलनाडु र कर्नाटकबीच कावेरी नदीको पानी बाँडफाँडलाई लिएर सन् १८९२ र १९२४ मा नै सुरु भएको हो । तत्कालीन समयका मद्रास प्रेसिडेन्सी र मैसुर राज्यबीच कावेरी नदीको पानी बाँड्ने विषयमा भएको उक्त समस्याले हालसम्म पनि भारतीय राजनीतिलाई हल्लाइराखेको हुन्छ ।

तर सन् २०१८ मा भने यसको असर क्रिकेटमा समेत देखा पर्न गयो । गत वर्ष कावेरी नदीको पानी बाँड्ने कुरालाई लिएर भारतको सर्वोच्च न्यायालयले तमिलनाडुको पानी घटाउन आदेश दिएपछि त्यसले राजनैतिक रूपो लियो र पार्टीहरू प्रदर्शनमा उत्रिए । त्यस समय आइपिएल चलिराखेको थियो । १० अप्रिल २०१८ मा चेन्नईमा खेलिएको खेल निकै तनावपूर अवस्थामा खेलियो । उक्त खेलको सुरक्षाका लागि ठुलो संख्यामा केन्द्रिय पुलिस रिजर्भ फोर्स (सीआरपीएफ) का जवानहरूलाई तैनाथ गरिएको थियो ।

कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्सबीच भएको उक्त खेलमा प्रदर्शनकारीहरू बलपूर्वक स्टेडियमभित्र पसेका थिए र उनीहरूले मैदानमा जुत्ता फालेका थिए । तीमध्ये एउटा जुत्ता दक्षिण अफ्रीकाका कप्तान फाफ डुप्लेसीलाई लाग्न गएको थियो । उनी यस घटनाले निकै क्षुब्ध पनि भएका थिए ।

त्यसपछि व्यवस्थापनले चेन्नईका लागि निर्धारित सबै खेल पुणे स्थानान्तरित गर्नुपरेको थियो । लगातार दुई सिजन आइपिएलमा अनुपस्थित रहेको चेन्नईले यस वर्षको आइपिएलको उपाधि समेत जित्न सफल भएको थियो ।

२. पानी संकट काण्ड

आइपिएलको नवौं शृंखलामा मुम्बई उच्च अदालतले आइपिएल व्यवस्थापनलाई महाराष्ट्रभित्र निर्धारित १३ खेलहरू प्रदेशबाहिर संचालन गर्ने आदेश दिएको थियो । यसको कारण थियो महाराष्ट्रमा देखिएको गम्भीर पानी संकट । आइपिएलका खेलहरू राज्यमा साचालित हुँदा ओइरिने दर्शक र प्रशंसकहरूका कारण समेत उक्त संकट झनै जटिल हुने भनेर अदालतले यस्तो आदेश दिएको थियो ।

३. थप्पड काण्ड

आइपिएलको पहिलो सिजनमा भारतीय क्रिकेटरद्वय एस श्रीसंत र हरभजन सिंहबीच भएको विवाद पनि आइपिएलको इतिहासको चर्चित घटनाक्रम मानिन्छ । मुम्बई इन्डियनन्सका स्पिनर हरभजनले किंग्स इलेभेन पन्जाबका फास्ट बलर श्रीसंतलाई सामान्य विवादको क्रममा मैदानमै थप्पड हिर्काएका थिए ।

४. म्याच फिक्सिङ

सन् २०१३ खेलाडीहरूले म्याच फिक्सिङ गरेको भन्दै चेन्नई र राजस्थान रोयल्स टीमहरूमाथि प्रतिबन्ध लागेको थियो। यसका साथै दिल्ली प्रहरीले यसै सिलसिलामा राजस्थान रोयल्सका तीन खेलाडी एस श्रीसंत, अजीत चण्डीला र अंकित चव्हानलाई पक्राउ समेत गरेको थियो ।

५. गालीकाण्ड

सन् २०११ मा राजस्थान रोयल्सका कप्तान शेन वार्नले रोयल च्यालेन्जर्स ब्याङलोरसँग खेल हारेको झोंकमा राजस्थान क्रिकेट एसोसिएशनका अध्यक्ष संजय दीक्षितलाई खुलेआम गाली दिएका थिए । त्यसपछि संजयले शेन वार्नविरुद्ध प्रहरीमा रिपोर्ट समेत गरेका थिए ।

६. शाहरुख काण्ड

आइपिएल सिजन-१२ मा कोलकाता नाइटराइडर्सले फाइनल म्याच जितेपछि शाहरुख खानले सुरक्षा गर्दसँग गरेको दुर्व्यवहार पनि निकै चर्चित भएको थियो । त्यस घटनापछि कोलकाताका मालिक समेत रहेका शाहरुखलाई चार वर्षका लागि वानखेडे स्टेडियममा आउँ नपाउने गरी प्रतिबन्ध लगाइएको थियो ।

७. लोभीपापी काण्ड

चेन्नई सुपरकिङ्ग्सका स्टार अलराउण्डर रविन्द्र जडेजालाई आइपिएलको तेस्रो सिजनमा बढी लोभ गरेका कारण प्रतिबन्धको सामना गर्नुपरेको थियो । खासमा अक्सनको समय यिनलाई राजस्थान रोयल्सले किनेको थियो तर उनले पछि मुम्बई इण्डियन्ससँग नयाँ अनुबन्ध गर्ने कोसिस गरेपछि उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।

८. ललित मोदी काण्ड

भारतमा आइपिएलको आधारशीला नै पूर्व अध्यक्ष ललित मोदीले राखेका थिए । उनकै अध्यक्षतामा पहिलोपटक सन् २०१८ मा आइपिएल सुरु भएको थियो । पछि ललित मोदीको नाम ‘मनि लन्ड्रिङ’, म्याच फिक्सिङ र आर्थिक हिनामिनामा जोडिएपछि यसले आइपिएललाई पनि विवादित बनाएको थियो ।

९. नाइट क्लब काण्ड

सन् २०१२ मा आइपिएलमा पुणे वारियर्सका दुई खेलाडी राहुल शर्मा र वेन पार्नेललाई मुम्बई प्रहरीले गिरफ्तार गरेको थियो । उनीहरूलाई प्रहरीले एउटा नाइट क्लबमा आयोजना गरिएको रेभ पार्टीमा समातेको थियो । आइपिएलको नियम अनुसार खेल अवधिभरि खेलाडीहरूलाई यस्ता ठाउँमा जानबाट प्रतिबन्ध लगाएको छ ।

१०. शाहरुख काण्ड-२

वरिष्ठ खेलाडी सौरभ गांगुलीलाई शाहरुख खानले पहिलो तीन सिजनमा कोलकाता नाइट राइडर्सको कप्तान बनाएका थिए । तर चौथो सिजनका लागि भएको अक्सनमा सौरवलाई केकेआरले नकिनेपछि कोलकातामा शाहरुख खानविरुद्ध नाराबाजी साथै प्रदर्शन समेत भएको थियो । सौरव त्यसपटक पुणे वारियर्सका कप्तान बने तर कोलकाताकास सबैभन्दा लोकप्रिय खेलाडी समेत रहेका बङ्गाल टाइगर भनेर चिनिने सौरवका प्रशंसकहरूले भने शाहरुख खानको सातो लिए ।

कमेन्ट गर्नुहोस्