कप्तान पारस खड्का एक लाख नगदसहित सम्मानित हुँदै

काठमाडौं, चैत ३ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई एक लाख नगदसहित सम्मान गरिने भएको छ । काठमाडौंका कजेलहरूले आगामी मंगलबार ‘काठमाडौं युथ कन्क्लेभ २०१९’ को आयोजना गरी कप्तान खड्कालाई सम्मान गर्ने घोषणा गरेको हो ।

युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा चैत्र ५ गते कमलादीस्थित प्रज्ञा भवनमा हुने कार्यक्रममा उनलाई सम्मान गर्ने तयारी गरेको हो ।

युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्य रहने कार्यक्रममा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अली, पारस खड्का, युट्युबर सिसन बानियाँ, मिस नेपाल २०१८ शृङ्खला खतिवडा, ज्योति ग्रुपका निर्देशक तथा स्याकार ट्रेडिङ कम्पनीका अध्यक्ष सौरभ ज्योती, कलाकार सन्दीप क्षेत्रीलगायतले युवाहरूलाई सम्बोधन गर्नेछन् । कार्यक्रमका अन्य आकर्षणमा स्वप्न सुमनका साङ्गीतिक प्रस्तुति, खानास्टल, गेमजोन तथा विद्यार्थीका प्रस्तुतिलगायत कार्यक्रम रहेका छन् ।

कमेन्ट गर्नुहोस्