नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

काठमाडौं, चैत ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । अध्यक्ष प्रचण्ड आज बेलुका पत्नी सिता दाहालको उपचारका लागि अमेरिका प्रस्थान गरेका हुन् । अमेरिका जानु अघि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले उपचारसँगै अमेरिकी सरकारका पदाधिकारीसँग पनि छलफल हुने बताए ।

उनले भने, ‘सम्भव भयो भने दुई देशको सम्बन्धको विषयमा पनि कुराकानी हुने सम्भावना छ । त्यस्तो फिक्स कार्यक्रम भने छैन । तर, भर्खरै जानकारी प्राप्त भए अनुसार परराष्ट्र मन्त्रालयले अमेरिकालाई औपचारिक चिठ्ठी पठाएको छ । औपचारिक चिठ्ठी पठाएको हुनाले अमेरिकी सरकारका अफिसियलहरुसँग औपचारिक-अनौपचारिक छलफल हुने सम्भावना बढेको छ ।’ प्रचण्डले सकेसम्म छिटो पत्नी सीताको चेकजाँच गरेर स्वदेश फर्किने बताए ।

प्रचण्ड पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्। प्रचण्डलाई बिदा गर्न नेकपा नेता सुवासचन्द्र नेम्वाङलगायत नेता त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

कमेन्ट गर्नुहोस्