बंगलादेशलाई ३–० गाेलले हराउँदै नेपाल बन्यो समूह विजेता

विराटनगर, चैत २ । साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गरेको छ । समूह चरणको अन्तिम खेल जितेसँगै नेपाल समूह विजेता बनेको छ ।

अब नेपालले सेमिफाइनलमा भारत र श्रीलंकाबीचको उपविजेतासँग खेल्नेछ । भारत र श्रीलंकाबीचको खेल आइतबार हुनेछ । दुवै टोलीले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

आजको खेलमा बङ्गलादेशले आत्मघाति गोल गरेपछि नेपालको अग्रता सुरु भएको थियो । मनमायाँ लिम्बुले प्रहार गरेको बलमा बङ्गलादेशी खेलाडी मसुरा प्रबिनको हेडमा आत्माघाती गोलले नेपाललाई १-० को अग्रता दिलायो ।

खेलको २३औं मिनेटमा नेपालको तर्फबाट अर्को गोल भयो । हिराकुमारी भुजेलको पासमा साबित्रा भण्डारीले हानेको बल नै नेपालको लागि दोश्रो गोलमा परिणत भयो ।

त्यस्तै मन्जली कुमारी योन्जनले साबित्राको पासमा २८औं मिनेटमा गरेको गोलले नेपाललाई पहिलो हाफमा बंगलादेहविरुद्ध तीन-शून्यको अग्रता दिलाएको हो ।

नेपाली टिममा आज एक जना खेलाडी परिवर्तन गरिएको थियो । विराटनगरको शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालले डिफेन्समा खेलाडी परिवर्तन गरेको हो । डिफेन्डर अमृता जैशीको स्थानमा पुनम जर्घामगरले स्थान बनाएकी हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो । यता, बंगलादेशले भने भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्