नेपालमा तन्त्रपरम्परा

काठमाडौं, चैत २ । भगवान् शिवजीद्वारा निःसृत भएको मानिने तन्त्रशास्त्र नेपालमा पौराणिककालदेखि नै प्रचलनमा आएको मानिन्छ । सरल भाषामा व्याख्या गर्नुपर्दा ज्ञानको विस्तारका रूपमा बुझ्न सकिने तन्त्र विद्याको प्रयोग हिन्दु धर्मका साथै बौद्ध, जैन, शिख, बोन, दाओ, सिन्तो आदि धर्ममा समेत प्रशस्तै हुने गरेका पाइन्छन् । तन्त्र विद्याका केही पौराणिक उदाहरणसहित तन्त्रसम्बन्धमा विविध विषय समेटिएको सन्दीप सापकोटाको प्रस्तुति

तन्त्रशास्त्र भगवान् आशुतोष शिवजीद्वारा निःसृत भएको मान्ने गरिन्छ । तन्त्रशास्त्रले जे कुरा यो ब्रह्माण्डमा छ, त्यही कुरा हाम्रो शरीरभित्र पनि रहेको हुन्छ भन्ने गर्छ । यसैका कारण मान्छेले आफ्नो चेतना शक्तिद्वारा ब्रह्माण्डसँग सम्पर्क स्थापित गर्न सकेको हुन्छ । शिवसंहितामा कुण्डलिनी शक्तिलाई सुप्तसर्पिणीजस्तो भनिएको हुँदा धेरै प्राचीन विद्वान्हरूले यसलाई ‘जीवन अग्नि’ भनेर व्याख्या गरेका छन् । शास्त्रले हाम्रो मूलाधार चक्रमा कुण्डलिनी शक्ति रहेको हुन्छ भनेर बताएको छ । तन्त्रशास्त्र त्यही कुरालाई झङ्कित गर्दै जुनसुकै मान्छेले चक्र र कुण्डलिनीमा ध्यान दिन सकेको खण्डमा त्यो मान्छे सबै विद्यामा निपुण हुन सक्छ भन्ने कुरा मानिन्छ ।

तन्त्र भनेको के हो ?
तन्त्र शब्दको निरुक्ति ‘तन्’ (विस्तार गर्नु ) र ‘त्र’ (ष्ट्रन) (रक्षा गर्नु ), तन्त्र त्यस्तो शास्त्र हो, जसद्वारा ज्ञान विस्तार गर्न सकिन्छ भन्ने बुझिन्छ । ‘तन्त्र’ को अर्थ लाउँदा जुन साधनाले प्रकृति र परमेश्वरलाई आफ्नो अनुकूल बनाउन सकिन्छ । यहाँ तन्त्र साधना भनेको ‘गुह्य या गूढ साधना’ भन्ने जनाउँछ । नेपालको हिन्दु र बौद्धपरम्पराको महायान र बज्रयान पन्थमा तन्त्रको प्रयोग व्यापक रूपमा हुने गर्छ । यसबाहेक नेपालको सनातनी हिन्दु समाजले कुनै पनि व्यवस्थित ग्रन्थ, सिद्धान्त, विधि, उपकरण, प्रविधि वा कार्यप्रणालीलाई पनि तन्त्र नै भन्दै आएको छ । तन्त्रपरम्परा नेपालको सनातन हिन्दु, बौद्ध, जैन, शिख, बोन, किरात
(टोँ), वहर्थमान, दाओ तथा जापानको सिन्तो आदि परम्परामा प्रशस्त प्रयोग हुने गर्छ । नेपालमा तन्त्र मुख्यतः शैव र शाक्त सम्प्रदायसँग जोडिए पनि यसको प्रयोग वैष्णव पन्थमा पनि हुने गरेको छ । बौद्ध धर्मको बज्रयानपरम्परा तन्त्र ज्यादै लोकप्रिय छ । हिन्दु, बौद्ध र जैन दर्शनको तन्त्रपरम्परा मिल्दाजुल्दा हुन्छन् । तन्त्र ग्रन्थ कति छन् भन्न सकिने अवस्था छैन तर ६४ तन्त्रको प्रभाव विश्वभरि फैलिन पुगेको देखिन्छ । हिन्दु, बौद्ध, जैन, तिब्बती धर्ममा प्रचलित तन्त्र साधना यसैको प्रभाव हो । तन्त्रले हरेक कुरामा स्वीकारभाव राख्छ ।
तन्त्र विज्ञानको एउटा उदाहरण महाभारतमा भीष्मको इच्छामृत्यु, तीरको शøयामा लम्पसार पर्दा पनि नदुख्नु भनेको ‘सेन्टर अफ सेन्सलाई ट्रान्सफर’ गर्न सक्नुले हो । क्राइस्टलाई किला ठोकेर झुन्ड्याउँदा क्राइस्टले कुनै चित्कार नगर्नु पनि यही हो । हिटलरको डिक्टेटिङ पावर, नेपोलियनको चमत्कार, गान्धीको सत्याग्रह–बन्दे मातरम्, यी यस्ता आवाज थिए, जसले अरूको ध्यान खिच्न सफल थियो, सुन्नेलाई एकाग्र पारेको थियो । यसलाई ‘पोलिटिकल हिप्नोटिज्म’ भन्न सकिन्छ । मानसिक, आध्यात्मिक र भौतिक स्रोतको सन्तुलन शक्तिमा परिणत हुनु तन्त्र हो । तन्त्र एउटा यस्तो बिन्दु, केन्द्रमा निश्चल हुन्छ, त्यो केन्द्रलाई समाधिको केन्द्रबिन्दु मानिन्छ । त्यहाँ कुनै फोर्सको प्रभाव हुन्न । बुद्धको निर्वाणको बिन्दु पनि त्यही हो । भौतिकवाद र अध्यात्मवादको समिश्रणको केन्द्रबिन्दु तन्त्र हो । मन्दिरका टुँडालहरू कलात्मक तन्त्र हुन्, कतिपय ठाउँमा तामस कलाकृतिमा तन्त्रका अनेकौँ आकृतिहरू अङ्कित देखिन्छन्, ती पनि तन्त्र हुन् ।

नेपाली समाजमा तन्त्र
तन्त्र मुख्यतः शिव र शक्तिसँग सम्बन्धित रहेको र यसैबाट अधिकतर तन्त्र ग्रन्थको सिर्जना हुन पुगेको देखिन्छ । तन्त्र ग्रन्थहरूमा विभिन्न साधना, त्यसको पूजा विधिको वर्णन तथा ज्ञानविज्ञान प्रक्रिया समेटिएको हुन्छ । यसैकारण ऋग्वेदले तन्त्रलाई ज्ञानको तान भनेर अथ्र्याएको छ र त्यो तान बुन्दै जाँदा ज्ञान बढ्दै जाने विश्वास गरिएको हुन्छ । तन्त्र पद्धतिमा शैव, शाक्त, वैष्णव, पाशुपत, गणापत्य, लकुलिश, बौद्ध, जैन आदि सम्प्रदायहरूको उल्लेख भए पनि शैव तथा शाक्त तन्त्र मात्रै हाम्रो देशमा बढी प्रचलनमा रहेको छ ।

कर्मकाण्ड र पूजा–उपासना गर्ने तरिका सबै धर्ममा फरक–फरक हुन्छन् तर तन्त्रको प्रक्रिया झन्डै–झन्डै सबैतिर उस्तै–उस्तैखाले हुने गर्छ । सबै धर्मले मानवभित्र अनन्तः ऊर्जा भएको स्वीर्काछन्, जसको पाँच÷सात प्रतिशतमात्र प्रयोगमा आएको मानिन्छ । शेष भाग खेर गइरहेको विश्वास छ । सबै धर्म सम्प्रदायले यो कुरा स्वीकारेको हुन्छ र आ–आफ्नो हिसाबले त्यसको बाटो बताएको हुन्छ । ती सबैले एकनासको विधि अवलम्बन गरी आफूभित्रको शक्ति जगाउने काम गरेको हुन्छ । तन्त्रोक्त मतानुसार मन्त्रद्वारा यन्त्रको माध्यमले भगवान्को उपासना गर्नु तन्त्र हो । तन्त्रशास्त्रको सबै ग्रन्थ शिव र पार्वतीको संवादबाटै प्रकट भएको हिन्दु मत छ । आगमशास्त्रअनुसार गर्नु नै जान्नु हो र त्यो जान्नु ज्ञान होइन । जबसम्म केही गरिन्न, तबसम्म मान्छे साधनामा प्रवेश गर्दैन । जबसम्म उसले आफैँले साधना गर्दैन, तबसम्म उसले तन्त्रको उत्तर वा समाधान पाउँदैन ।

तन्त्र, मन्त्र र यन्त्र : पारस्परिक अन्तरसम्बन्ध
देवीदेवताको विग्रह मन्त्रका रूपमा रहेको हुन्छ । देवताहरू तीन रूपमा रहेका हुन्छन्– १. परा २. सूक्ष्म ३. स्थूल । सामान्यतः मान्छेले देवीदेवताको स्थूल रूपको उपासना गर्ने गरेको हुन्छ तथा त्यसकै सहाराले मानव देवीदेवताको सूक्ष्म रूपसम्म पुग्न सक्तछन् । तन्त्रशास्त्रमा अधिकतर कार्य मन्त्रद्वारा नै गर्ने गरिन्छ । थोरै उच्चारण गरेर धेरै जान्नु तन्त्र हो । असङ्ख्य अर्थहरूलाई व्यक्त गर्न सक्ने विचार, भाव वा महत्व तन्त्र हो । मानव शरीर तन्त्र, मन्त्र र यन्त्रले चल्छ । हाम्रो शरीरको व्यवहार तन्त्र हो भने शरीरमा बसेर जो विचार पलाउँछ त्यो मन्त्र हो । यस अर्थमा मानव शरीर स्वयं यन्त्र हो । तन्त्र सिद्ध भयो भने अष्टसिद्धि प्राप्त हुन्छ ।

नेपालमा तन्त्र प्रयोग
तन्त्रको एक विशिष्ट उदाहरणका रूपमा पाटनमा अवस्थित कान देवताको प्रसङ्गलाई लिन सक्छौँ । मल्लकालीन समयमा तत्कालीन कान्तिपुर र पाटन राज्यका राजाबीच गहिरो वैमनस्यता थियो । यसैक्रममा पाटनका राजाले तन्त्रको प्रयोगमार्फत षड्यन्त्र रचे । तान्त्रिक गुरुपुरोहितको मद्दतबाट पाटनका राजाले काठमाडौँका राजाको कमजोरी थाङ्का (पौवा) चित्र हो भन्ने थाहा पाई तीन यन्त्रको सिर्जना गरे र अत्यन्त कलात्मक स्वर्ण लिखित पौवाचित्रमा यन्त्रलाई गुप्त रूपमा राखी कान्तिपुरका राजालाई भेट गरे । कान्तिपुरका राजाले विशिष्ट व्यक्तित्वबाट प्राप्त उपहार आफ्नो अन्तःपुरमा झुन्ड्याइराखे । अर्को यन्त्र बागमतीकिनारमा एउटा ठूलो खम्बा बनाई कानको आकृति रूपको यन्त्र र अर्को यन्त्र पाटनकै राजाको दरबारमा राखे । त्यो तीन यन्त्र आपसमा अन्तर्सम्बन्धित थियो । कान्तिपुरको गतिविधि र गोप्य संवादलाई पौवा यन्त्रले कानदेवतामा पठाउँथ्यो र कान देवताले पाटन दरबारमा फ्याँक्थ्यो । यसरी कान्तिपुरको गोप्यता पाटनका राजाले थाहा पाउँथे । पछि गएर कान्तिपुरका राजा र रानीको राज्यको विषयका गोप्य संवाद पाटनमा यत्रतत्र सर्वत्र फैलियो । कान्तिपुरका राजाले यो के भयो भनी गुरुपुरोहितको सहायताबाट विचार गर्दा पाटनका राजाको सबै कर्तुत थाहा पाएर कान्तिपुरका राजाले पनि यन्त्रलाई नै ठीकविपरीत गरेका थिए र यो क्रिया पनि पाटनमा ज्ञात भएपछि पाटनका राजाले यन्त्र निष्क्रिय गराउन लगाएका थिए ।

तत्कालीन नेपालमा गोरखनाथले नवनागलाई आफ्नो आसनमुनि बाँधेर राखेपछि वर्षा गराउन करुणामय मच्छिन्द्रनाथलाई कामरूप कामाख्याबाट ल्याउँदा भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजू र पाटनका ललिचा ज्यापूले तन्त्रको सहायता लिएका थिए । १४औँ शताब्दीमा राजा हरिहरसिंह देवले तुलजा भवानीलाई नेपालमा स्थापित गर्न पनि तन्त्रकै प्रयोग गरेका थिए ।

यतिमात्र नभई, वर्तमान नेपालमा तन्त्र अदृश्य अस्त्रका रूपमा स्थित भएको देखिन्छ । टुनामुना, कुण्डलिनी जगाउने, पूर्वजन्मका आख्यान, आखेट हेर्ने, जोखना हेर्ने, जन्मकुण्डली, ग्रहदशा, मोहनी लगाउने, भूत भगाउने, केही लाग्यो भनेर पन्छाउने, झारफुक, क्षेत्रपाल, नाग लाग्यो वा देवीदेवता रिसाए भनेर पूजा गर्ने, कुलदेउता, मूलदेउता खुसी पार्ने, नाडी हेर्ने, धामीझाँक्रीको प्रयोग, ग्रहदशा मोचन वा मठमन्दिरको स्थापना, जात्रा, स्थानान्तरण वा पूजा गर्दा तन्त्र, मन्त्रबाट मात्र गर्ने यी सबै साधन साध्यका रूपमा विकसित भएर आएका देखिन्छन् ।
नेपालमा बच्चा जन्मेदेखि मरेपछि पनि तन्त्र र मन्त्रको चौघेरामा उसको अस्तित्व र आत्मा घुमिरहेको हुन्छ । तोडल तन्त्र र सर्वोल्लास तन्त्रमा उल्लेख गरिएका ६४ तन्त्रको नाउँ चतुःशती र श्रीकण्ठीको तन्त्र सूचीसँग मेल खाँदैनन्, जसमा काली, मुण्डमाला, तारासहित कामाख्या तन्त्रमा उल्लेख भएको ६४ तन्त्रहरूको नाउँ पनि समावेश छ । यी तन्त्रहरू सन् १७५४ ई लिपिबद्ध गरिएको हस्तलिखित पुस्तक इन्डिया अफिस लाइब्रेरी लन्डनमा ब्रिटिस शासकहरूले पु¥याएका बताइन्छ ।

आठौँ शताब्दीभन्दा पहिलेको जयद्रथयामल तन्त्रको धेरै कुरा यही ग्रन्थले प्रस्ट पारेको छ । आठ किसिमको यामल तन्त्रको मूलग्रन्थ ब्रह्मयामल तन्त्रलाई मानिएको छ । यसका प्रमुख उपासक नेपालका तत्कालीन श्री ५ प्रतापसिंह शाह थिए । त्यो पुस्तक तत्कालीन नेपालको राजदरबारमा रहेको थियो भने ११७४ ईमा लेखिएको पिङ्गलातन्त्र नामक ग्रन्थ, जसलाई ब्रह्मयामल तन्त्रको परिशिष्ट भएको भन्ने गरिएको छ । त्यो पनि तत्कालीन नेपालको राजदरकारमा रहेको थियो । अहिले तन्त्रशास्त्रका ती दुर्लभ ग्रन्थहरू कहाँ पुु¥याइएको छ खोजीको विषय हो । यिनै तन्त्रशास्त्रहरूको साधकहरू तत्कालीन नेपालमा प्रशस्त भएका कारण तन्त्रशास्त्रअनुसार नेपालमा छाग (बोका), महिष

(राँगो), मेष (भेडा), कुखुरा र हाँस बलि दिने चलन बसेको हो । हाम्रो तन्त्र सभ्यताको महŒवपूर्ण सोच बलिप्रथा जीवनको पूर्ण परम मुक्तिसँग गाँसिएको मानिन पुगेको हो । दोलखा भीमसेनलाई पसिना आउँदा उपद्रो हुने विश्वास र क्षमापूजा, सर्वाध्या परमेश्वरी तुलजा भवानीले कुनै बेला राजासँग प्रत्यक्ष पासा खेलेको, पाटन राज्यमा एक बालिका र एक करिब ५९ वर्षकी हालसम्म रजस्वला नभएकी कुमारी आदि लगायतका प्रसङ्गले तन्त्रलाई अझ नेपाली सन्दर्भमा व्यापक बनाएको छ । राजा राम शाहले तन्त्रकै बलमा न्याय सम्पादनका उदाहरण बन्न सफल भए । प्रताप मल्ल, लक्ष्मीनरसिंह मल्लको युग तन्त्रमन्त्रले भरिपूर्ण थियो । राजा सिंहप्रताप शाहले काठमाडौँ श्मसान भूमिमा मृत महिलाको यौनाङ्गमा तन्त्र साधना गरेर सिद्धि प्राप्त गरेको आख्यान अहिले पनि सुनिन्छ । यस्तै, शिवपुरी बाबाको शक्ति पनि तन्त्रकै हो भने भारतमा पनि सिद्ध तान्त्रिकहरूको सङ्ख्या ठूलै छ ।

नजिकको तीर्थ हेलाँ
नेपालको तन्त्रमन्त्रको रहस्य पत्ता लगाउन विदेशी मुलुक कस्सिएका छन् । राजधानीको फोहोर सफा गर्ने नाममा, काठमाडौँ, भक्तपुर र पाटन ‘दरबार स्क्वायर’ सफा गर्ने, पुनःनिर्माण गर्ने नाममा तन्त्रमन्त्रको अनुसन्धानमा उनीहरू व्यस्त रहने गरेका भनाइ छ । विदेशीले पाटन दरबार स्क्वायरको पुनःनिर्माणमा सघाएर कृष्ण मन्दिर र आसपासका मन्दिर, गुठीमा व्यापक अनुसन्धान गरिरहेका फगत गफमात्रै होइनन् । आज पनि लामा, राई, तामाङ मन्त्र सिक्न र लामा तन्त्र शिक्षा आर्जनका लागि वर्षको दुई हजारभन्दा बढी विदेशीहरू नेपाल आउने गरेको बताइन्छ । हामी आधुनिकतालाई अँगालेर पुरातनलाई फ्याँक्दै र विसर्जन गर्दै गइरहेका छौँ, विदेशीहरू पुरातनभित्र के छ भनेर खोतल्दै र सङ्कलन गर्दै गइरहेका छन् । जर्मनी कानुनले धामीझाँक्री अध्ययनलाई मान्यता र महत्व नै दिएको छ । युरोपेलीहरू पूर्वीय दर्शनभित्र विचरण गर्न थालेका छन् भने हामी हाम्रो सभ्यता र संस्कृतिलाई अन्धपरम्पराका नाममा केवास्ता गर्दै छौँ ।

युरोपेली राष्ट्रका एक टोलीले नेपालमा कागपूजा, कुकुरपूजा, गाईपूजा, शालिग्रामपूजा र बोक्सीबारे अनुसन्धान गर्न थालेका केहीअघि थाहा लागेको थियो । उनीहरू हनुमानढोकामा नाइटो किन गाडिन्छ, किलागलमा किन पैसालाई किला ठोकिन्छ, मन्दिर र जात्रामा तन्त्रपूजा किन गरिन्छ भन्नेसम्मका विषयमा अध्ययन गरिरहेका छन् । हाम्रा समाजशास्त्री र सरकारलाई यसबारे अत्तोपत्तो छैन । यसतर्फ पनि ध्यान दिने कि ? यो सामग्री गोरखापत्र दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्