श्रीसंत फेरि फर्किएलान् मैदान?

एजेन्सी । आजीवन प्रतिबन्ध हटेपछि भारतीय क्रिकेटर श्रीसंतले आफू चाँडै नै क्रिकेट मैदानमा फिर्ता हुने बताएका छन् । भारतीय सर्वोच्च अदालतले शुक्रबार म्याच फिक्सिङ मुद्दामा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को अनुशासन समितिका तर्फबाट श्रीसन्तमाथि लगाइएको आजीवन प्रतिबन्ध हटाएपछि उनले यस्तो बताएका हुन् । केरल उच्च अदालतले बीसीसीआईले लगाएको प्रतिबन्ध सदर गरेको थियो । श्रीसंत केरल उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्च अदालतका न्यायाधीश अशोक भूषण र केएम जोसेफको बेन्चले बीसीसीआईले तीन महिनाभित्रमा श्रीसंतमाथिको कारबाहीबारे सोच्न सक्ने बताएका छन् । अदालतले सजायको अवधि तोक्दै गर्दा श्रीसंतको कुरा पनि सुन्नु पर्ने बताएको छ ।

मैदान फर्किएलान् श्रीसंत?

श्रीसंत सन् २००७ को टी–२० विश्वकप र सन् २०११ को एकदिवसीय विश्वकप जित्ने भारतीय टिमका सदस्य हुन् । उनले २७ टेस्ट म्याचमा ८७ तथा ५३ वान डे म्याचमा ७५ विकेट लिएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि श्रीसंतले भनेका छन्, ‘आजीवन प्रतिबन्ध हट्नु निकै खुशीको कुरा हो । सर्वोच्च अदालतले लाइफ लाइन दिएको छ । मलाई एउटा अवसर प्रदान भएको छ । म पुरै फिट छु । क्रिकेट मेरो रोजीरोटी हो । म फेरि खेल्न चाहन्छु ।’

सर्वोच्च अदालतले दिल्ली उच्च अदालतमा चलिरहेको आपराधिक मुद्दामा भने यो फैसलाले केही असर नगर्ने बताएको छ । उच्च अदालतमा दिल्ली प्रहरीले तल्लो अदालतको फैसलालाई चुनौती दिएको थियो । अदालतले सन् २०१३ को आईपीएलमा भएको म्याच फिक्सिङ मुद्दामा श्रीसंतसमेत सबै आरोपीहरुलाई रिहा गरेको थियो ।

कमेन्ट गर्नुहोस्