प्रहरी सक्रियतामा रोकियो बालविवाह

सल्यान, चैत १ । प्रहरीले खैराबाङ मन्दिरमा हुँदै गरेको बालविवाह रोकेको छ ।

बालविवाह गर्न खोज्ने ओली, उनकी आमा ३८ वर्षीया दुजी र बालिका प्रहरी नियन्त्रणमा छन् । प्रहरीले सोधपुछका लागि मन्दिरका पुजारीलाई समेत कार्यालयमा ल्याइएको छ ।

गोप्य सूचनाका आधारमा विवाह टोली पछ्याउँदै मन्दिरमै पुगेर विवाह रोकेको डीएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनीहरूलाई बाल विवाह उद्योगको आरोपमा देवानी तथा फौजदारी संहिता, २०७४ अनुसार कारबाही गरिनेछ । उनका अनुसार जन्तीलाई केही समय नियन्त्रणमा लिई छाडिएको छ । विवाहको टोली बोकेको गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कानूनअनुसार बालविवाह गर्ने–गराउनेलाई ३ वर्ष कैद र ३० हजार जरिवाना तोकिएको छ । बालविवाह उद्योग गर्नेलाई १ वर्ष कैद र १५ हजार जरिवाना हुने उल्लेख छ । प्रहरी निरीक्षक गिरिराज भण्डारीले विगतमा बालविवाह गर्दै आएकालाई अभिभावकको जिम्मामा छाडिने गरेको पनि अबदेखि कारबाही गरिने जनाए । उनका अनुसार बालविवाह गर्नेमाथि कारबाही भएको यो पहिलो घटना हो ।

तथ्यांकअनुसार जिल्लामा ७० प्रतिशत बालबालिकाले विबाह गर्दै आएका छन् । जनचेतनाको अभाव र मोबाइलमा बढेको विकृतिका कारण बालविवाह बढ्दै गएको प्रहरी निरीक्षक भण्डारीले जनाए ।

पुजारी दिनबन्धु शर्माले बालिकाले २१ वर्ष पूरा भएको बताएपछि विवाह गराउन आफू तयार भएको बताएका छन् । वडा २ का अध्यक्ष केशवसिंह श्रेष्ठले आफूले नै मन्दिरका पुजारी र प्रहरीलाई खबर गरी बालविवाह रोक्न लगाएको बताए । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्