दोलखामा मजदुर बोकेको बस दुर्घटनाः दुईको मृत्यु, २० घाइते

काठमाडौं, चैत १ । शुक्रबार बिहान दोलखामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनो हाइड्रोको ब्युरो–११ ले भाडामा प्रयोग गरेको बा ४ ख ४५७३ नम्बरको बस बिगु गाउँपालिका–१, लामाबगरको नयाँ बाटोमा बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दोलखा जिल्ला प्रहरी कार्यालयले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार दुर्घटनामा सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षीय दिनेश थापा र लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ३, खुदी तरापुका ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको छ । चालकसहित २३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ। तर घाइतेको एकिन संख्या थाहा भइनसकेको पनि प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि काठमाडौं पठाउन हेलिकोप्टरको व्यवस्था गरिएको दोलखा प्रहरी प्रमुख डिएसपी वासुदेव पाठकले जानकारी दिए । ‘अहिले घाइतेको नाम खुलिसकेको छैन, घटना हुनाको कारण पनि थाहा भइसकेको छैन, अुनसन्धान भइरहेको छ,’ उनले भने ।

बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!