हुम्लामा सुत्केरी आमाको उद्वारमा ढिलाई, शिशुलाई भने बचाउन सकिएन

काठमाडौँ,फागुन ३० । तीन दिनदेखि सुत्केरी व्यथा लागेको महिलाको उद्धार गरिएको छ । कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएर ती महिलाको उद्धार गरेको हो । उद्धारमा भएको ढिलाईका कारण स्वास्थ्यकर्मीले आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकिएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताइन् ।

हुम्लाको दक्षिण क्षेत्रस्थित सर्केगाड गाउँपालिका–८ राहदेवका ३० वर्षीय ढली बुढालाई तीन दिनदेखि सुत्केरी व्यथा लागेको थियो । बुधबार राति शिशुको एउटा हातमात्र बाहिर निस्किए पनि उनले शिशु जन्माउन सकेकी थिइनन् ।

आज बिहान मात्र हेलिकप्टरबाट उनको उद्धार गरेर १० बजे जिल्ला अस्पतालमा पुर्याइएको थियो । तर उद्धार ढिलो भएको कारण आमाको ज्यान बचाउन सफल भएपनि शिशुलाई बचाउन नसकेको जिल्ला अस्पतालका अनमी बोहराले बताइन् ।

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग नजोडिएकाले ग्रामीण क्षेत्रमा गर्भवती र शिशुको मृत्युदर बढ्दो छ । – रासस

कमेन्ट गर्नुहोस्