बाल विकास केन्द्रसम्म पुग्न सकेन १७ हजार बालबालिका

रुपन्देही, फागुन ३० । प्रदेश नं. ५ का १७ हजार बालबालिका अझैपनि बाल विकास केन्द्र, पुग्न सकेका छैनन् । आर्थिक र सामाजिक अवस्था कमजोर भएका बालबालिकालाई सहयोग पुग्ने गरी प्रभावकारी प्रयास हुन नसक्दा सबैलाई शिक्षाको पहुँचमा ल्याउन नसकिएको हो ।

विद्यालय गएका बालबालिकाले पनि बीचमै कक्षा छाड्ने समस्या छ । सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार प्रदेश नं. ५ मा १६ हजार ८ सय ४० बालबालिका बाल विकास केन्द्रमा गएका छैनन् । बाल विकास केन्द्रमा भर्ना भएका १९ प्रतिशत बालबालिका कक्षा एकमा भर्ना भएका छैनन् । ५ वर्षदेखि १२ वर्ष उमेर समूहका ९ लाख ८५ हजार बालबालिका छन् । त्यसमध्ये करिब ६ प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।

प्रदेशमा १३ वर्षदेखि १६ वर्षसम्मका ४ लाख ८२ हजार ८ सय बालबालिका छन् । यो उमेर समूहमा आउँदा आधारभुत तह पूरा गरेका १ लाख ९५ हजार ५ सय बालबालिका माध्यमिक तहमा गएका छैनन् । आर्थिक र सामाजिक दुवै अवस्था कमजोर भएका मजदुर वर्गका बालबालिका, मुस्लिम र अपांगता भएका पढाइको अवसरबाट छुटेका मन्त्रालयको शैक्षिक योजना तथा तथ्यांक महाशाखाका प्रमुख स्थानेश्वर ज्ञवालीले बताए ।

सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन प्रदेश सरकारले आगामी शैक्षिक सत्रमा प्रदेशका १ सय ९ वटै तहलाई जिम्मेबार बनाउन फरक–फरक खालका अभियान चलाउने तयारी गरेको उनले बताए । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्