विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धप्रति सत्तारुढ नेकपाका नेताको असन्तुष्टि

काठमाडौँ, फागुन २९। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्धित गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । बुधबार राजधानीमा आयोजना गरिएको एक साक्षात्कार कार्यक्रममा बोल्दै पौडेलले सरकारको यस निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । नेता पौडेलले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई निषेध गरेर नभई वार्तामार्फत् शान्तिपूर्ण ढंगले मूलधारको राजनीतिमा ल्याउन सकिने बाताए ।

‘शान्तिपूर्ण ढंगबाटै समस्या समाधान गर्नुपर्छ,’ कार्यक्रममा बोल्ने क्रममा नेता पौडेलले भने, ‘राज्यले कसैलाई जबर्जस्ती धकेलेर युद्धमा जाने बाध्यात्मक वातावरण बनाउनु हुन्न ।’ नेता पौडेलले विप्लव नेतृत्वको पार्टीलाई जब्बरजस्ती गर्न खोजे यसले मुलुकको विकास निर्माणको कामलाई गम्भीर असर पर्ने भन्दै सरकारलाई सचेत गराए ।

मंगलबार साँझ बसेको मन्त्रीपरिषद बैठकले चन्द नेतृत्वको नेकपाको गतिविधि अपराधिक भएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति नेता पौडेलको असन्तुष्टि छ ।

नेता पौडेलले सिके राउत समूहले विगतका आफ्ना गतिविधि कायमै राखे ऊसँग गरिएको सहमतिबारे पनि सरकारले पुनर्विचार गर्नुपर्ने स्पष्ट पारे । सरकारलाई जनताको अपेक्षा अनुसारको कामलाई तिखारेर तीव्र गतिका साथ अघि बढाउन पनि उनले सरकारलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्