फिल्मी खबर वर्ष व्यक्तिः जीतु नेपाल र रीनाशा वान्तवा

काठमाडौं, फागुन २९ । विगत १० वर्षदेखि नियमितरुपमा प्रकाशित हुँदै आएको फिल्मीखबर साप्ताहिक यस वर्ष पनि बर्ष व्यक्ति घोषणा गरेको छ । वर्ष व्यक्तिका रुपमा पुरुषतर्फ यस वर्ष हाँस्य कलाकार जीतु नेपाल र महिलातर्फ कोरीयोग्राफर तथा यसै वर्षबाट निर्देशक बनेकी रीनाशा वान्तवा राईलाई चयन गरेको छ ।

जीतु नेपालले यस वर्ष अत्याधिक सफल चलचित्र ‘छक्का पञ्जा’मा निर्माण, स्कृप्ट लेखन तथा अभिनय गरेका थिए भने यसैवर्ष नेपाल टिभीमा रीयालिटि शो मुन्द्रेको कमेडी क्लव सञ्चालन गरी चर्चामा आएका छन् । साथै नेपालले यस वर्ष अन्तर्राष्ट्रिय रुपमा आधा दर्शनभन्दा बढी देशमा स्ट्याण्ड अप कमेडी तथा नेपाल भीत्र ६०–६५ शो कमेडी प्रस्तुति दिएका छन् ।

त्यस्तै म्यूजिक भिडियोबाटै प्रवेश गर्दागर्दै चर्चामा रहेकी रीनाशाले चलचित्र कोरीयोग्राफीमा पनि सफलता प्राप्त गरेकी थिइन् । यसैवर्ष निर्देशनमा पाइला चालेकी राई ‘इन्टु मिन्टु लण्डन’ मा मार्फत नव निर्देशकहरुमा सफल देखिएकी छिन् ।

वरिष्ठ रंग पत्रकार सविन शाक्यको स्मृतिमा फिल्मीखबर साप्ताहिकले स्थापना गरेको फिल्मीखबर सविन स्मृति रंग पत्रकारिता पुरस्कारबाट पहिलोपटक विष्णुप्रसाद सुवेदी पुरस्कृत हुने भएका छन् । विगत डेड दशकदेखि रंग पत्रकारितामा संलग्न विष्णु सुवेदीले यसै वर्षमात्र लेन्स प्रकाशन गरी नवीन कार्यको थालनी गरेको थिए ।

विष्णुले आफ्नो अनलाइन पोर्टलमा नेपाली चलचित्र, गीत–संगीत क्षेत्रको अभिलेख राख्नुका साथै सेलीब्रटीका व्यक्तिगत जानकारी (वायोडाटा) समेत राखी राज्यकै सन्दर्भमा पनि योगदान गरेका छन् । वर्ष व्यक्तिलाई सम्मानपत्र तथा ट्रफिका साथ समान गरीने छ भने रंग पत्रकारिता पुरस्कारमा प्रमाणपत्र, ट्रफि एवं १००१०।– .(रु. दश हजार दश) राशी रकम सहित पुरस्कार प्रदान गरिने जनाएको छ ।

फिल्मीखबरले नेपाली रंग पत्रकारिता इतिहासंमा १०औं वर्ष मनाउने पहिलो साप्तहिक पत्रिका भएको छ । रंग पत्रकारिताको क्षेत्रमा प्रकाशित कुनै पनि साप्ताहिक पत्रिकाले १० औं वर्ष मनाउने अवसर पाएका थिएनन् । यस किसिमको अवसर पाउनुलाई फिल्मीखबर साप्ताहिकका सम्पादक शान्तिप्रियले खुशी प्रकट गरेका छन् । प्रविशा प्रकाशन प्रालिबाट प्रकाशन गर्ने यस संस्थाको अध्यक्ष प्रदीप कुमार उदय, संस्थापक सस्पादक विनोद अर्याल र सम्पादकका रुपमा शान्तिप्रिय रहेका छन् । पत्रिकाले आफ्नो दशौं वार्षिकोत्सव चैत १ गते एक कार्यक्रमका विच मनाउदै छ । सोही अवसरमा बर्ष ब्यक्तिलाई सम्मान एवं पुरस्कार प्रदान गरीने सम्पादक प्रियले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!