सर्लाहीमा आगलागीबाट ४ घर जलेर नष्ट

मलंगवा, फागुन २९ । सर्लाहीको पर्सा गाउँपालिका–४ कविलासी टोलमा मंगलबार राति लागलागी हुँदा ४ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट परी १४ लाख ७५ हजारको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

कविलासी टोलका नरेश राय यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँका उपेन्द्र यादव, बसीर बैठा धोवी, हकिम बैठा धोबी र इस्लाम बैठा धोबीको घर जलेर नष्ट भएको हो । आगीलागीमा परी रायको फुसको कच्ची घर, गोठ, अन्न, लत्ताकपडा र मोटर साइकल जलेर नष्ट भएको छ । रायको मात्रै ६ लाख ८० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बसीरको फुसको घर, लत्ताकपडा, अन्न र ५ वटा बाख्रा मरेको छ। हकिम बैठाको फुसको कच्ची घर, अन्नपात, लत्ताकपडा र ६ वटा बाख्रा गरी ३ लाख ६० हजारको क्षति भएको छ ।

ईस्लामको पनि फुसको कच्ची घर र गोठ सहित गोठमा भएको ६ बटा बाख्रा गरी ६० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा रायको हात खुट्टा समेत जलेको छ।त्यसैगरी कविलासी नगरपालिका ७ गैर बस्ने रामपृत रायको परालको टालीमा आगलागी हुँदा ४० हजार बराबरको पराल जलेर नष्ट भएको हो । आगो स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

कमेन्ट गर्नुहोस्