पीएसएल खेलेर सन्दीप स्वदेश फिर्ता

काठमाडौं, फागुन २८ । पाकिस्तान सुपर लिग (पीएसएल) खेलेर नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाल फर्किएका छन् । उनी आज नेपाल फर्किएका हुन् ।

त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले फ्रेन्चाइज लिगले आफ्नो लिडरसिप क्षमता बढाउनुका साथै आफूलाई धेरै सिक्ने मौका दिएको बताए । यसका साथै सन्दीपले पाकिस्तान सुपर लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको पनि बताए ।

नेपाल र यूएईबीचको तीन टी–२० र तीन एक दिवसीय सिरिजका लागि बंगलादेश प्रिमियर लिग बीचमा छाडेर फर्किएका उनी सिरिजपछि अस्ट्रेलियाली लिग बिग ब्यास लिग (बीबीएल) मा पुनः आवद्ध भए ।

बिग ब्यासपछि पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न अस्ट्रेलियाबाट यूएई पुगेका थिए । लाहोर कलन्दर्सबाट पीएसएल खेलेका सन्दीपले बीग ब्यासकै कारण सुरुका तीन खेल गुमाएका थिए ।

समग्रमा ७ खेलमा सहभागिता जनाएका सन्दीपले ११ विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा लगातार दुई खेलमा भने उनी विकेटविहीन बने । केही दिनभित्र सन्दीप इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्न दिल्ली जाने छन् ।

कमेन्ट गर्नुहोस्