हामीबीच कुनै विवाद छैन, समझदारीमा पार्टी अघि बढेको छः प्रचण्ड

विराटनगर, फागुन २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्डले पार्टी एकतालाई अन्तिम रुप दिन प्रधानमन्त्रीसँग निरन्तर छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै प्रचण्डले एक÷दुई दिनभित्र पार्टी एकताको टुङ्गो लाग्ने बताए । नेकपाका दुई अध्यक्षबीचको समदारीबाट पार्टी सञ्चालन भइरहेको बताउँदै उनले भने, “हामीबीच कुनै विवाद छैन, समझदारीमा पार्टी अघि बढेको छ ।” यस्तै, अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएकोसमे जानकारी दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानूनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गरे। उनले प्रदेशको अधिकार खोस्ने कार्य सङ्घीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पारे। अध्यक्ष प्रचण्डले पृथकतावादी आन्दोलनमा लागेका सिके राउत राष्ट्रिय एकता र राष्ट्रिय मूलधारमा आउनु सकारात्मक कुरा भएको विचार व्यक्त गरे।

उनले सिके राउतसँग वर्तमान मुलुकको संविधान स्वीकार गरी राष्ट्रिय राजनीतिमा आउने भएको ११ बुँदे सम्झौतामाथि शङ्का नगर्न सबै राजनीतिक दललाई आग्रह गरे । पार्टी अध्यक्ष प्रचण्डले वर्तमान सरकारले सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउने समझदारीमा पार्टीको समेत सहमति रहेको प्रष्ट पारे ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!