प्रदेश लोकसेवा आयोगः उमेर हद घट्यो, अब ३५ पूरा भए पुग्ने

काठमाडौं, फागुन २८ । प्रदेश लोकसेवा आयोग सदस्यका लागि प्रस्तावित ४५ वर्ष पूरा हुनुपर्ने उमेर हद घटाइएको छ । अध्यक्षका हकमा ४५ वर्ष कायम राख्दै सदस्यका हकमा १० वर्ष घटाएर ३५ बनाइएको हो।

संघीय संसद अन्तर्गत राज्य व्यवस्था समितिमा दुई दिनदेखि उक्त विषयमा बहस भएको थियो। सरकारले संघीय लोकसेवा आयोगकै मापदण्ड अनुसार प्रदेश लोकसेवा आयोग गठन गर्ने प्रस्ताव गरेको थियो। तर, युवाहरुको ऊर्जा, क्षमता र ज्ञानलाई नजरअन्दाज गर्न नसकिने भन्दै केही सांसदहरुले संशोधन हालेका थिए।

निजी क्षेत्रमा ३५ वर्षको उमेर समूहकाले विभिन्न कम्पनीको नेतृत्व गर्दै सफल भइरहेको दृष्टान्त अघि सार्दै उमेर हद घटाउने पक्षमा समितिका अधिकांस सदस्य सांसदहरुले राय राखेका थिए। मंगलबार पनि उमेर हद घटाउनु पर्ने विषयमा सांसदहरु यशोदा सुवेदी, नवराज सिलवाल, रेखा शर्मा, प्रेम सुवाल, देवेन्द्रराज कँडेललगायले आफ्ना धारणा राखेका थिए।

सरकारका तर्फबाट आफ्ना कुरा राख्दै प्रदेश लोक सेवा आयोग नयाँ संरचना भएकाले अनुभवी व्यक्ति जरुरी रहेको कानून मन्त्री भानुभक्त ढकालको दाबी थियो। नेपाल लाइभबाट

कमेन्ट गर्नुहोस्