महिला च्याम्पियनसिपः उद्घाटन खेलमा भुटानमाथि नेपाल ३–० ले विजयी

काठमाडौं, फागुन २८ । साफ महिला च्याम्पियनसिप २०१९ को उद्घाटन खेलमा भुटानविरुद्ध नेपाल ३–० ले विजयी भएको छ । नेपालको जितमा सावित्रा भण्डारी, मञ्जलीकुमारी योन्जन र निरु थापाले गोल गर्न सफल भइन् । नेपालले पहिलो हाफमा २ र दोस्रो आफको ५४औं मिनेटमा १ गोल गर्न सक्यो ।

खेलको १३ औं मिनेटमा मञ्जलीको गोलमा अग्रता लिएको नेपालका लागि १६औं मिनेटमा सावित्राले गोल थपिन् । यो सँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै टीमलाई फराकिलो जित दिलाइन्। उनले सावित्राको हेड बललाई गोलमा परिणत गरेकी हुन् ।

खेल विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि शुरु भएको हो । सुरुका तीन संस्करणमा फाइनल खेलेको नेपाल यो पटक उपाधिको दाबेदार मानिएको छ ।

कमेन्ट गर्नुहोस्