नेपाल फर्किदै सन्दीप, केही दिनमै आइपीएल खेल्न दिल्ली जाने

काठमाडौं, फागुन २७ । पाकिस्तान सुपर लिग क्रिकेट (पीएसएल) खेलेर सन्दीप लामिछाने मंगलबार स्वदेश (नेपाल) फर्किने भएका छन् । लाहोर कलन्दर्सबाट पीएसएल खेलका सन्दीपले टिमका १० मध्ये ७ खेलमा सहभागिता जनाउन भ्याए । अस्ट्रेलियामा भएको बिग ब्यास लिग (बीबीएल) को फाइनलसम्म खेलेका सन्दीपले त्यसपछि पीएसएल खेल्न यूएई गएका थिए ।

सन्दीपको पीएसएल यात्रा समग्रमा राम्रो रह्यो । उनले ७ खेलमा ११ विकेट हात पारे । उनी सोमबार राति ९ बजेसम्म पाँचौ स्थानमा थिए । सन्दीपको टिम लाहोर सोमबार भएको अन्तिम खेलमा मुल्तान सुल्तान्ससँग ७ विकेटले पराजित भएको थियो ।

मुल्तानविरुद्धको खेलमा २ ओभर मात्र बलिङ गरेका सन्दीपले २७ रन खर्चिए पनि विकेट भने लिन असफल भए । २३ तारिखदेखि इन्डियन प्रिमियर लिग (आईपीएल) सुरु हुने भएकाले मंगलबार काठमाडौं आएपछि एकदुई दिनमा उनी भारत जाने छन् । आईपीएलमा उनी यस सिजनमा पनि दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

कमेन्ट गर्नुहोस्