समृद्ध नगर बनाउन निजी क्षेत्रसँगको सहकार्यलाई पहिलो प्राथमिकताः मेयर विष्ट

महेन्द्रनगर, फागुन २७ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले समृद्ध नगर बनाउन निजी क्षेत्रसित सहकार्यलाई पहिलो प्राथमिकता दिएको बताएका छन् । खुला मञ्चमा आयोजना गरिएको १२ औं सुदूरपश्चिमाञ्च स्तरीय औद्योगिक तथा व्यापारिक मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समाप कार्यक्रममा नगर प्रमुख विष्टले कर संकलन, विकास निर्माण, औद्योगिक विकास लगायतका विषयमा निजी क्षेत्रसित सहकार्य र साझेदारी गरी जाने विषयलाई प्राथमिकता दिएको बताए ।

‘भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने नारा बनाउने लक्ष्य र उद्देश्यका साथ अघि बढेका छौ, त्यसका लागि सबै क्षेत्रको साथ र सहयोग पाएका छौ’ उनले भने,‘कञ्चनपुर उद्योग बाणिज्य संघसित विगतमा सहकार्य र साझेदारी भएको छ, त्यसलाई निरन्तरता दिएर प्राथमिकता दिएका छौ, निजी क्षेत्रसित सहकार्य गरी समृद्ध नगर बनाउन चाहन्छौ ।’ स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकालाई समृद्ध नगर बनाउने योजना साथ कार्य गरिएको उल्लेख गर्दै डेढ वर्षे कार्यकालमा ऐतिहासिक कार्य भएको बताए ।

‘समृद्ध नगर बनाउने लक्ष्य अनुसार विभिन्न नीति तथा योजनाका साथ अघि बढेका छौ, त्यसका लागि विकास निर्माणका कार्य सुरु गरिएका छन्’ उनले भने,‘त्यसका लागि सबै क्षेत्रसित सहकार्य गरिएको छ, साझेदारी गरिएको छ, त्यसलाई निरन्तरता दिन्छौ ।’ जैविक मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, महाकाली नदीमा साहसिक जलयात्राको सफल परीक्षण, ब्रह्मदेब झिलमिला केबुलकार सम्भाव्यता अध्ययन, जैविक मार्ग र शुक्लाफाँटा पर्यटन मार्ग जोडेर बाहिरी चक्रपथ निर्माण कार्य सुरु, बाराकुण्डामा ताल पुनःभरण, एक किलोमिटर भन्दा बढी सडक कालोपत्रे, झिलमिलासम्म सडक निर्माण लगायतका विकास निर्माणका कार्य गरिएको नगर प्रमुख विष्टले बताए ।

‘निजी क्षेत्रले केबुलककार अध्ययन गरिएको छ, त्यसको प्रक्रिया अघि बढेको छ’ उनले भने,‘अरु क्षेत्रमा पनि सहकार्य गर्न सकिने ठाउँमा निजी क्षेत्रसित सहकार्य गरी जान तयार छ ।’ नगर प्रमुख विष्टले पैदल यात्रा समेत गर्न असहज खल्ला मुसेट्टी र टुडीखेलसम्म यातायात सञ्चालन गरिएको उल्लेख गर्दै महाकाली नदीमा परीक्षण गरिएको साहसिक जलयात्रा सञ्चालनका लागि सहकार्य गर्न निजी क्षेत्रलाई आव्हान गरे ।

भीमदत्त नगरपालिकाले पूर्णागिरी माताका दर्शनार्थीहरुलाई रौटेला मन्दिरमा ल्याउने पहल गरिरहेको नगर प्रमुख विष्टले बताए । भम्केनी धाममा निर्माण सुरु गरिएको ७५ फिट अग्लो नेपाल आमाको मूर्तिका लागि एक करोड सहयोगको प्रतिवद्धता गरिएको नगर प्रमुख विष्टले बताए । केही दिन अघि निर्माण सुरु गरिएको मूर्तिको उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले मूर्ति बनाउन आर्थिक अभाव हुन नदिने बताएका थिए ।

एशियाली विकास बैंकको ऋण नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालन गरिएको सहरी विकास आयोजना अन्र्तगत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र बनाउने प्रक्रिया अघि सारिएको उल्लेख गर्दै उनले त्यसका लागि जग्गा खोजि भई रहेको बताए । सहरी विकास आयोजना अन्र्तगत बजार क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डका सडक निर्माणको सर्भे गरिएको नगर प्रमुख विष्टले बताए ।

‘त्यो आयोजना अन्र्तगत बजार क्षेत्रमा सडकको सर्भे गरिएको छ, बजारमा अहिलेसम्म प्रतिकिलोमिटर एक करोडका सडक कालोपत्रे गरिएका छन्, अहिले सर्भे गरिएका सडक प्रतिकिलोटिर ७÷८ करोड पर्छ’ उनले भने । बेदकोट नगरपालिकामा औद्योगिक क्षेत्र बनाउन विगतदेखि पहल गरिएको उल्लेख गर्दै उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणले सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने नगर प्रमुख विष्टले बताए ।

मेला आयोजक कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्लको सभापतित्वमा गरिएको समपान कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावल प्रमुख अतिथि थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!