ताप्लेजुङ हेलिकोप्टर दुर्घटनास्थलमै नपुगी किन फर्किए जाँचबुझ समितिका सदस्य ?

काठमाडौं फागुन २७ । ताप्लेजुङको सिस्नेखोलास्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटनाको जाँचबुझका लागि भन्दै गएको टोली दुर्घटनास्थलमै नपुगी फर्किएको छ ।

पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा आइतबार ताप्लेजुङ गएको छानबिन समितिको टोली घटनास्थलमै नपुगी काठमाडौं फर्किएको हो। आइतबार बिहान अवलोकनका लागि गए पनि छानबिन टोली पाथीभरा मन्दिरका पुजारी, स्थानीयवासी र प्रत्यक्षदर्शीसँग छलफल गरेर फर्किएको हो।

छानबिन समितिका सदस्यसचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले मौसमका कारण दुर्घटनास्थलमा हेलिकोप्टर अवतरण गर्न नसकेपछि ‘एरियल भ्यू’मार्फत नै उक्त क्षेत्रको अवलोकन गरेर फर्किएको जानकारी दिएका छन् ।

‘मौसम खराबका कारण दुर्घटनास्थलको अवलोकन गर्न सकिएन’, लामिछानेले भने, ‘घटनास्थलनजिकै पुगी हेलिकोप्टरबाट अवलोकन गरियो। दुर्घटनास्थलमा हेलिकोप्टरको पछाडिको भाग मात्र बाँकी रहेको देखियो । पछाडिको भाग अनुसन्धानका लागि त्यति उपयोगी हुँदैन ।’

‘अनुसन्धानमा आवश्यक पार्टपुर्जा र प्रमाण भेटिएन’

पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गएको छानबिन समितले दुर्घटनास्थलमा अध्ययन र अनुसन्धानमा आवश्यक कुनै पनि पार्टपुर्जा र प्रमाण नभेटिएको निष्कर्ष समेत निकालेको छ।

यही फागुन १५ गते ताप्लेजुङको सिस्नेखोलास्थित तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटनामा परेको थियो । हेलिकोप्टर दुर्घटना भएकै दिन नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका पूर्वसचिव यज्ञ गौतमको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बाँस्तोला, नेपाली सेनाका अवकाशप्राप्त महासेनानी क्याप्टेन प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिवको जिम्मेवारीमा छन् ।

ताप्लेजुङमै २०६३ साल असोज ७ गते तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर दुर्घटना हुँदा सरकारले गठन गरेको जाँचबुझ समितिमा गौतम सदस्य थिए। नेपालखबरबाट

कमेन्ट गर्नुहोस्