महाकाली नदी छेउमै भारतीय रेल, सीधै राजधानी नयाँ दिल्ली जोडियो

काठमाडौँ, फागुन २६ । भारतले राजधानी नयाँ दिल्लीबाट महाकाली नदीको किनारमा रहेको शहर टनकपुरसम्म एक्सप्रेस रेल सेवा विस्तार गरेको छ । भारतीय रेल विभागलाई उद्धृत गर्दै अमर उजालाले प्रकाशित गरेको समाचारमा साबिक बरेली-दिल्ली एक्सप्रेस आइतबारदेखि टनकपुर पुग्ने बताइएको छ । उक्त रेल यस अघि उत्तर प्रदेश राज्यको प्रमुख शहर बरेलीसम्म संचालनमा रहेको थियो ।

यसअघि मिटर गेजमा रहेको रेल लाइनलाई ब्रोडगेजमा परिवर्तित गरेपछि यस क्षेत्रमा एक्सप्रेस रेलसेवा सुरु गरिएको हो । यस अघि टनकपुरबाट प्रयागराजका लागि टनकपुर-प्रयागराज एक्सप्रेस सुरु भैसकेको छ ।

यस रेल सेवाको सुरुवात केन्द्रिय बाल विकासमन्त्री मेनका गान्धी, त्यस क्षेत्रका केन्द्रिय सांसद अजय टमटा र प्रदेश संसद कैलाश गहतोडीले हरियो झण्डा देखाएर रेलसेवाको उद्घाटन गरे ।

नेपालको सीमानासँगै जोडिएको शहर भएकाले भारतीय राजधानी नयाँ दिल्ली तथा त्यस बाटो भएर अन्य शहरहरूतर्फ जाने नेपाली यात्रुहरूलाई समेत यस सेवाले सजिलो हुने विश्वास गरिएको छ ।

यो ट्रेन बिहान ९ बजेर ५५ मिनेटमा हिंड्ने भएकाले नेपाली यात्रुहरूलाई भारतमा गएर बास बस्ने बाध्यता रहने छैन । उनीहरू सीमावर्ती नेपाली शहर महेन्द्रनगरबाट एक घण्टाको यात्रा गरेर त्यहाँ पुग्न सक्ने छन् ।

यस क्षेत्रका जनताले लामो समयदेखि एक्सप्रेस रेलसेवाको माग गरिराखेका छन् । प्रधानमन्त्री मोदीले भने बमोजिम ‘अच्छे दिन’सँग जोडेर व्याख्या गरिएको यस सेवाले आसन्न निर्वाचनमा बिजेपीको पक्षमा जनमत सिर्जना गर्न सजिलो हुने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!