विद्यार्थी मृत्यु प्रकरणः बैतडीमा आन्दोलनकारीद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा

बैतडी, फागुन २६ । ग्रेडरले किचेर एक विद्यार्थीको मृत्यु भएपछि बैतडीको पाटनमा पीडित परिवारलाई क्षतिपूर्तीको माग गर्दै आफन्त र विद्यार्थीको आन्दोलनले उग्ररुप लिएको छ। आन्दोलनरत विद्यार्थी र मृतकका आफन्तले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत प्रहार गरेका छन् । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए।

इलाका प्रहरी कार्यालयभित्र घटनाका विषयमा छलफल भइरहेका बेला एक्‍कासी इलाका प्रहरी कार्यालयमा ढुंगामुढा प्रहार गरेको प्रहरी नायव उपरीक्षक गिरीले बताए। प्रहरीले १८ राउण्ड हवाई फायर र १५ सेल अश्रुग्यास प्रहार गरेको हो। विद्यार्थीको ढुंगामुढा प्रहारबाट ४ जना प्रहरी घाइते भएका छन्। तर विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेपछि मात्रै ढुंगामुढा गरेको दाबी गरेका छन्। प्रहरीले लाठीचार्ज गरेपछि आक्रोशित साथीहरुले ढुंगामुढा प्रहार गरेको विद्यार्थी तेजप्रसाद भट्टले बताए। प्रहरीको लाठीचार्जबाट तीन विद्यार्थी घाइते समेत भएका उनले बताए।

प्रहरीको लाठीबाट घाइते भएका सिद्धबहादुर बोगटी, जयन्ती बिष्ट र तेज नेपालीको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको भट्टले बताए। शनिवार बेलुका ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो।

कमेन्ट गर्नुहोस्